Odapalika - The Fourth Estate - चौथो अंग
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले ११ देशमा रहेका राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदिएको छ ।

मन्त्रिपरिषद्को राजदूत फिर्ता बोलाउने गत असोज ३० को निर्णयविरुद्ध लक्ष्मीप्रसाद रेग्मीले दायर गरेको रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गरिदिएको हो । 

अन्तरिम आदेशमा एउटै निर्णयबाट नियुक्त भएका १७ राजदूतमध्ये ११ जनालाई मात्र फिर्ता बोलाएको, फिर्ता बोलाउनुपर्ने आधार र कारण निर्णयमा उल्लेख नगरेको, ती देशमा तत्काल राजदूत नियुक्त भएर काम गर्ने अवस्था नरहेकोसहितका कारण समेत प्रस्तुत गरिएको छ । 

“बोलाइएका ११ राजदूतको पदावधि बाँकी नै रहेको अवस्था देखिन आएको, फिर्ता बोलाउनु पर्ने कारण मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको नदेखिएको, रिक्त हुन आउने राजदूत पदमा नयाँ नियुक्ति सम्बन्धमा कुनै कार्य भए गरेको भन्ने अवस्था पनि नदेखिएको, नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी हालको अन्तरिम सरकार गठन भएको भन्ने राष्ट्रपतिको कार्यालयको मिति २०८२/०५/२७ को विज्ञप्तिमा उल्लेख भएको देखिन आएको र सोही मितिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मिति २०८२/०५/२७ मा प्रतिनिधिसभा विघटन भएबाट नेपालको संविधानको धारा २९२ समेतलाई दृष्टिगत गर्दा तत्कालै राजदूतको पदपूर्ति हुन सक्ने अवस्था नभई राजदूत पद रिक्त हुन जाने अवस्था देखिन आएको छ,” अन्तरिम आदेशमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update