काठमाडौं - प्रधानमन्त्री शुशीला कार्कीले निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य प्राथमिकता रहेको बताएकी छन् । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर छलफल गरेकी प्रधानमन्त्री कार्कीले सुरक्षित वातावरण बन्छ भन्नेमा आफू ढुक्क भएको बताइन् ।
“निर्वाचनको वातावरण बनाउने हाम्रो मुख्य प्राथमिकता हो । सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था हुँदैछ । प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ,” उनले भनिन् ।
प्रधानमन्त्रीले अहिलेका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् । “मुलुक हाम्रो हो । हामीले सुधार्ने हो, बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ,” उनले भनिन् ।
पूर्ण सम्बोधन
हामी राजनीतिक नेता होइनौँ । परिस्थितिले यहाँ ल्याइपुर्यायो । भदौ २३ गतेअघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि थिएन । त्यो दिन बानेश्वरको एउटा घरमा थुनिँदा हामी आफैँ पनि विस्थापित भयौँ कि जस्तो भएको थियो । जेनजीहरूको सुरुको भाग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा थियो । अहिले धेरैथरी जेनजी देखापरेका छन् । धेरैथरी मागहरू आउन थालेका छन् ।
कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँ भित्र ठिकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन । सिक्दै छन् । कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन ।हामीलेभन्दा धेरै कुरा उनीहरूले जानेका छन् ।मुलुक हाम्रो हो। हामीले सुधार्ने हो, बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ ।
कतिपय कुरा लेख्दा, बोल्दा तलमाथि होला । तर, हाम्रो नियत खराब छैन । कसैले आशंका पाल्नुपर्ने कारण छैन । हामी तपाईँहरूसँग सहकार्य गरेर नै अघि बढ्ने हो । संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने हो । संविधानले बनाएका संरचनाको सम्मान गर्नु नै पर्छ ।
स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन । त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि चुनाव लड्न दल खोल्दै छन्। जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ ।
कोहीकोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ ।
निर्वाचनको वातावरण बनाउने हाम्रो मुख्य प्राथमिकता हो । सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था हुँदैछ । प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ । छिमेकी मुलुकहरूले पनि सवारी साधन उपलब्ध गराउँदै छन् । केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन् । आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएका छन् । यसले प्रहरीको मनोबल उकास्न र जनतासँगको सम्बन्ध थप कसिलो बनाउन मद्दत गरेको छ । यो निकै अर्थपूर्ण र संसारका लागि उदाहरणीय पनि छ ।
अहिलेभन्दा निकै प्रतिकूल अवस्थामा पनि चुनाव भएको छ । जेनजीहरूले नै पनि चुनाव हुनुपर्छ र अहिलेको अवस्थामै गर्न सकिन्छ भनेका छन् । दलहरूसँगको संवादले अझै बढी चुनावका पक्षमा वातावरण बनेको महसुस भएको छ । निर्वाचन आयोगलाई चाहिने १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी छँदै छन् । बाँकी व्यवस्थापन हुँदै छ । आयोगले पनि तोकिएकै मितिमा चुनाव गराउन सकिनेमा पूर्ण विश्वास दिलाएको छ । लुटिएका र हराएका हतियारहरू फेला पर्दै छन् । प्राप्त हुन बाँकी रहेका हतियारको पनि लोकेसन पत्ता लागिसकेको छ। भागेका कैदी पनि फर्किँदै छन् ।
तसर्थ, सुरक्षित वातावरण बन्छ भन्नेमा ढुक्क भए हुन्छ । यस कार्यका लागि प्रदेशले पनि भूमिका खेल्नुपर्छ, स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्छ । हामी तीनै तहका सरकारसँग समन्वय गरेर नै अघि बढ्छौँ । अबको छलफल स्थानीय सरकारका प्रतिनिधिहरूसँग गर्दै छौँ ।







