Odapalika - The Fourth Estate - चौथो अंग
एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

काठमाडौं - सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम  मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल आएका छन् ।

यसबाहेक छिमेकी मुलुक चीनबाट छ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत रहेको छ । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका छन् ।

दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२.६ प्रतिशत पर्यटक आएका छन् । भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आएका छन् । गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी  पर्यटक नेपाल घुम्न आएका हुन् । 

सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ को १० महिनामा नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update