अर्घाखाँची - सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
गोरुसिङ्गे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक छ घण्टा सडक बन्द हुने भएको शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय निर्णयअनुसार भोलि बुधबारदेखि मङ्सिर १० गतेसम्म दैनिक बिहान १०:०० बजेदेखि दिनको ४:०० बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो ।
पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको डिभिजन शिवपुरका डिभिजन प्रमुख इञ्जिनियर कोइरालाले बताए ।





