काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको विषयमा जेनजीहरूको संस्था नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको खबर आएपछि नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग भएको नेपाल जेनजी फ्रन्टले बताएको छ ।
सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको नेपाल जेनजी फ्रन्टको ठहर छ ।
जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको तत्काल बर्खास्ती गर्न र उनले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ ।
सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी दिनुपर्ने जेनजी फ्रन्टको माग छ ।






