Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ?

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

पौडेल राष्ट्रपति बन्नुअघि कांग्रेस नेता थिए भने उनले पार्टी सभापति शेरबहादुर देउवा इतर पक्षको नेतृत्व गर्ने गरेका थिए ।

राष्ट्रपति पौडेलले विशेष महाधिवेशन पक्षधर कांग्रेस नेताहरुलाई आफू राज्यको सर्वोच्च पदमा बसेकाले पार्टीको आन्तरिक विषयमा खुलेर बोल्न निमल्ने बताएर पठाएका स्रोतले जानकारी दियो ।

सोमबार आफूलाई भेट्न शीतलनिवास पुगेका नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग कुरा गर्दै उनले आफूलाई कांग्रेसको चासो र चिन्ता भएपनि बोल्न नमिल्ने बताएका एक सहभागीले जानकारी दिए ।

यद्यपि, सहभागीले भने कांग्रेसको विशेष महाधिवेशनको विषयमा कुरा उठाएका थिए । उनीहरुले राष्ट्रपतिलाई सबै दलको अभिभावक भन्दै कांग्रेसभित्रको बेथितिलाई थितिमा लानुपर्ने धारणा राखेका थिए ।

जवाफमा राष्ट्रपति पौडेलले नियमित वा विशेष जे महाधिवेशन गरे पनि मिलेर अघि बढ्न सुझाव दिए ।

राष्ट्रपति पौडेललाई भेट्न नेताहरू गुरूराज घिमिरे‚ देवराज चालिसे‚नरेन्द्र केरूङ‚ सुवास भट्टराई‚ रमेश धमला‚ बलदेव तिम्सिना‚जनक गिरीलगायत पुगेका थिए । एक घण्टासम्म चलेको संवादमा आसन्न निर्वाचनको समेत विषय उठेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update