Odapalika - The Fourth Estate - चौथो अंग
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । 

आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ । 

यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ । आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । 

सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ । 

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update