काठमाडौं- भद्रकाली मन्दिरको पुनः निर्माण प्रक्रिया सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताउँदै महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डङ्गोलले, पुनः निर्माणको गुणस्तरमाथि निगरानी गरिरहनु सम्पदा तथा पर्यटन विभागलाई र समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी छन्।
आज पुनः निर्माण कार्यको अनुगमन गर्दै उहाँले, सत्तलमा काठ सम्बन्धी काम गर्दा परम्परागत रूपमा काठको काम गर्ने रैथाने सिप भएका व्यक्तिहरूको सुझाव र सहयोग लिन, कम्पाउन्ड वाल (सुरक्षा पर्खाल) बनाउँदा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन निर्देशन दिइन्।
अनुगमनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, विभागका प्रमुख कुमारी राई र वरिष्ठ इन्जिनियर रवीन्द्र रिजालले पुनः निर्माणको प्रक्रिया, निर्माण सामग्री र शैली र ढाँचाका विषयमा जानकारी गराएका थिए। अनुगमनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ,गुठी संस्थानका सदस्य सचिव शैलेशराज कुँवर, वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, गुथि तथा समुदायसँग सम्बन्धित पदाधिकारी सहभागी थिए ।
योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले चालु आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाहरूको नियमित अनुगमन भइरहेको एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको भनाइ छ ।
भद्रकाली मन्दिर भौगोलिक रूपमा वडा नंं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार मन्दिर परिसरमा विभिन्न समुदायका कुल देवता स्थल भएकोले यसको गरिमा बचाउँदै पुन निर्माण कार्य भइरहेको छ ।
२०७२ सालको भूकम्पले जीर्ण भएको मन्दिर परिसरका सत्तल पुनः निर्माणका लागि छनोट भएको निर्माण पक्षसँग २०८१ ज्येष्ठ ६ गते सम्झौता गरेर असार ४ गते कार्यादेश दिइएको थियो । त्यही महिनाको २७ गते जग पूजा गरेपछि मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनः निर्माण सुरु भएको हो ।
पुनः निर्माण अघि मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना थिए । कार्यादेश दिँदा पुन निर्माणका लागि ३६ करोड रुपियाँ लागत अनुमान गरिएको थियो । खुला प्रतिस्पर्धामा ३४ करोड ८० लाख ७१ हजार रुपियाँ कबोल गर्ने तुलसी अम्बुजा जेभीले पुनः निर्माणको जिम्मा पाएको छ । पुनः निर्माण गर्दै जाँदा संरचना र डिजाइनमा केही परिवर्तन भएकोले भेरिएसन गरिएको छ ।
सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इन्जिनियर रिजालका अनुसार संशोधित डिजाइनको लागत अनुमान करबाहेक ३७ करोड ३० लाख ८७ हजार रुपियाँ थियो । यसको सम्झौता रकम ३६ करोड ८० लाख ४ हजार रुपियाँ हो । निर्माण अवधि २०८४ असार ३ गतेसम्म हो ।
सत्तललगायत संरचनाको निर्माण परम्परागत नेवारी शैलीमा भइरहेको छ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थामको प्रयोग गरिएको छ । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडेर बनाइँदै छ । दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक निर्माण हुँदै छन् । यिनीहरू पनि आपसमा जोडिएका छन् ।
विभागका इन्जिनियर अनुपराज ढुङ्गानाका अनुसार भद्रकाली परिसरको क्षेत्रफल ४ हजार ५४४ वर्ग मिटर हो । यसभित्र उत्तरतर्फको सत्तल ५८८.९२ वर्ग मिटर र दक्षिणतर्फको सत्तल ३१६.४ वर्ग मिटरको छ ।







