नेपाली कांग्रेस अहिले ऐतिहासिक समस्याको जालोमा छ । भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि देखापरेका जेनजी नेताहरु कांग्रेससहितका पुराना दल समाप्त हुनुपर्छ भनिरहेका छन् । त्यसभन्दा अगाडि नै सामाजिक संजालको माध्यमबाट नेता बनेकाहरु पनि कांग्रेसलगायत दल सकिनुपर्छ भनिरहेका छन् ।
वाह्य चुनौति मात्रै होइन, कांग्रेसको आन्तरिक कलह अब संहाल्न नसकिने अवस्थामा पुगेको छ । कुनै चमत्कार भएन भने विशेष महाधिवेशनको लागि भन्दै सानेपाबाट भृकुटीमण्डप आएको कांग्रेसको एउटा समुह पुस मसान्तपछि सानेपा फर्कने छैन । कांग्रेस विभाजित हुनेछ ।
यसपालि कांग्रेस विभाजनको नेतृत्व पार्टी महामन्त्री गगन थापाले लिएका छन् । महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका छन् ।
र, आश्चर्यको कुरो के छ भने, अहिले आमसंचार माध्यम र सामाजिक संजाल हेर्दा पार्टी विभाजनको सम्पूर्ण दोष सभापति शेरबहादुर देउवाको छ भन्ने देखाइएको छ । गगन थापा समुहको उत्कृष्ट मिडिया म्यानेजमेन्टको कारण दोष देउवाको थाप्लोतिर देखाइएको हो ।
जेनजी प्रदर्शन लगत्तै महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षर अभियान चलाइयो । गगन थापालाई सभापति बनाउनको लागि मात्रै विशेष महाधिवेशनको अस्त्र फालिएको थियो । त्यही विशेष महाधिवेशनको विशेष अस्त्र अब कांग्रेस विभाजनको लागि पर्याप्त भएको छ ।
जेनजी प्रदर्शनको क्रममा सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भयो । उनको घर जलाइयो । त्यति मात्रै होइन, कांग्रेस केन्द्रीय कार्यालय जलाइयो, प्रजातन्त्रको उद्गमस्थल कृष्णप्रसाद कोइरालाको निवास कोइराला निवासमा लुटपाट, तोडफोड र आगजनी भयो । दिवंगत सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रममा लुटपाट, तोडफोड र आगजनी भयो । प्रजातन्त्र पुनस्थापनको लागि भएको आन्दोलनको सर्वाेच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको घरमा लुटपाट, तोडफोड र आगजनी भयो ।
त्यही जेनजी प्रदर्शन लगत्तै महामन्त्री गगन थापाले एक भिडियो सन्देश जारी गर्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा व्यक्त असन्तोष जायज भएको बताए । र, उनले कांग्रेसले गल्ती गरेको, त्यो गल्तीमा आफ्नो भागमा परेको गल्ती आफूले सहने, भोग्ने बताए ।
उमेरले ८० वर्ष नाघेको बयोबृद्ध पार्टी सभापतिलाई रक्तमुच्छेल हुनेगरी आक्रमण गर्दा सो कार्यको निन्दा गर्ने त परको कुरा, मानवीय रुपमा सहानुभूतिको एक शब्द पनि व्यक्त नगरी महामन्त्री गगन थापा पार्टी सभापति पद हत्याउने प्रयत्नमा जुटे । कुनै पनि संघ/संगठनले आफ्नो अध्यक्ष वा सभापतिमाथिको आक्रमणलाई सिंगो संगठनमाथिको आक्रमण ठान्छ । तर, महामन्त्री गगन थापाले सभापतिमाथिको आक्रमणलाई शेरबहादुर देउवामाथिको आक्रमण मात्रै हो भन्ने सन्देश प्रवाहमा श्रम र समय खर्चिए ।
सबैभन्दा गम्भीर विषय के हो भने प्रजातन्त्रको उद्गमस्थल कोइराला निवासमा लुटपाट, तोडफोड र आगजनी गर्ने, नेपालको सबैभन्दा ठूलो लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गर्ने, प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका सर्वाेच्च कमाण्डर दिवंगत नेता गणेशमान सिंहको घरमा लुटपाट, तोडफोड र आगजनी गर्ने, सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रममा लुटपाट, तोडफोड र आगजनी गर्ने तथा पार्टी सभापतिको ज्यानै लिनेगरी सांघातिक आक्रमण गर्ने प्रदर्शनलाई जायज असन्तुष्टी भनेर त्यसैको आडमा सभापति पद हत्याउने प्रयत्न गगन थापाले गरे ।
नेपाली कांग्रेसको आत्मा भनेको संसदीय लोकतन्त्र हो, कानुनको शासन हो र नागरिक सर्वाेच्चता हो । जेनजी प्रदर्शनको क्रममा संसद भवनमा लुटपाट, तोडफोड र आगजनी भयो । सर्वाेच्च अदालतमा लुटपाट, तोडफोड र आगजनी भयो । संघीय सरकारको प्रमुख प्रशसनिक केन्द्र सिंहदरबारमा लुटपाट, तोडफोड र आगजनी भयो । उद्योग प्रतिष्ठानहरुमा लुटपाट, तोडफोड र आगजनी भयो । व्यक्तिका सम्पत्तिमा लुटपाट, तोडफोड र आगजनी भयो । व्यापारिक संरचनाहरुमा लुटपाट, तोडफोड र आगजनी भयो । त्यही कांग्रेसका महामन्त्री पदमा आसिन गगन थापाले त्यो जेनजी प्रदर्शनलाई जायज असन्तोष भने र अब आफूलाई कांग्रेसको सभापति बनाउनु पर्छ भन्ने अभियान चलाए ।
गगन थापाको एउटा अनौठो अभिव्यक्ति आउने गर्छ । उनी भन्छन्– कांग्रेसले गल्ती गरेको छ, म मेरो भागमा पर्ने गल्तीको सजाएँ भोग्न तयार छु । तर, गगन भन्दैनन्– नेपाली कांग्रेसले गरेको गल्तीको परिमाण कति हो ? त्यो गल्तीमा कांग्रेसको महामन्त्रीको भागमा कति पर्छ ? अनि त्यो गल्तीलाई भागण्डा गरेर वितरण गरिदिने अधिकारी को हो ?
नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन् भन्ने दाबी गगन थापाको छ । त्यो मागपत्र कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता गरिएको छ । केन्द्रीय कार्यालय महामन्त्रीको कार्यक्षेत्रभित्र पर्छ भन्ने उनको दाबी छ । केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनको माग महामन्त्री गगन थापाले कहिल्यै पनि केन्द्रीय समितिमा औपचारिक छलफलमा लगेनन् । किन नलगेको ? प्रवक्तालाई ‘पाँचचोटी पढाउने’ महामन्त्रीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेको विशेष महाधिवेशनबारे किन छलफल नगराएको ?
पार्टी सभापति शेरबहादुर देउवाले चाहेमा एक चुट्कीमा समस्या समाधान हुन्छ भनेर गगन थापा र उनको समुहले भनेको कुरा सत्य हो । गगन थापा शेरबहादुर देउवाले आफूलाई पार्टी सभापति बनाइदिउन भन्ने चाहन्छन् । थापाले देउवासँग सभापति बनाउने बचन मागेको तर त्यो नपाएपछि उनी कांग्रेस विभाजनतिर लागेको अब स्पष्ट भइसकेको छ ।
गगन थापा र उनको समुह केही पूर्वमहामन्त्रीहरुले कांग्रेस सुधार्न दिएनन् भन्छन् । उनीहरुकै कारण केही गर्न सकिएन भन्छन् । महामन्त्री पद प्रभावकारी हो भने बहालवाला महामन्त्री गगन थापा के हेरेर बसेको ? महामन्त्री पद बेकारको हो भने पूर्वमहामन्त्री कसरी प्रभावकारी हुन्छ ? आफूले अहिले पाइरहेको पद केही होइन, विगतमा त्यही पद पाउनेहरु चै धेरै नै शक्तिशाली रहेछन् भनेर गगन थापाले के देखाउन खोजेको ?
जेनजी प्रदर्शनलगत्तै राजनीतिक नेता कार्यकर्ता लुकेर बस्नुपर्ने परिस्थिति उत्पन्न भयो । त्यसमा पनि नेपाली कांग्रेस, एमाले जस्ता राजनीतिक दलको सदस्य हूँ भनेर चोकमा निस्किएर एक कप चिया खान सक्ने वा एकमुठो साग किन्न सक्ने परिस्थिति थिएन । गगन थापाले यस्तो बेलामा विशेष महाधिवेशनको रडाको भित्र्याउनुको कारण खुलाउनु पर्छ ।
नेपाल विद्यार्थी संघको सभापति गुरु घिमिरे हुँदा गगन थापालाई उनले महामन्त्रीमा मनोनित गरेको र विद्यार्थी नेता राजु थापालाई उपसभापति बनाउने विषयले गुरुसँग उनको सम्बन्ध विग्रदै जादा बोलचालै बन्द भएर गुरु कार्यसमिति नै विघटन गर्नुपर्ने गरी लथालिङ्ग भएको प्रसंग अहिले उठाउनु त्यति प्रासंगिक नहोला । नेविसंघको सभापतिमा प्रदीप पौडेलले आफूलाई छोडिदेलान् भनेर अन्तिम समयसम्म पनि पर्दा पछाडिबाट चिहाउने गगनलाई प्रदिपले किन छोडेनन् भन्ने विषय पनि अर्काे कुनै सन्दर्भमा चर्चा गर्दा हुन्छ । सुजाता कोइराला, नरहरि आचार्य, कृष्ण सिटौला, प्रकाशमान सिंह, शेखर कोइरालालाई पालैपिलो उपयोग गर्दै पार्टी राजनीतिको महामन्त्री बनिसेका गगन थापाले अब भने राष्ट्रिय राजनीतिको आकलन गर्न सक्ने क्षमता बनाउन जरुरी छ ।
विशेष महाधिवेशनको लागि गगन समुह पार्टीका पूर्वपदाधिकारीको मानमर्दन गर्न तल्लीन छ । तर, गगनले स्कुलमा पढ्दा ‘बुढो बाबु फाल्ने ढोको’ शीर्षकको कथा पाठ्यक्रममा राखिएको थिएन वा उनले विर्सिए, त्यो कथा सम्झाउन जरुरी छ ।
नेपाली कांग्रेस सकिए हुन्छ । संविधानसभाबाट संविधान बनेलगत्तै नेपाली कांग्रेस खारेजी प्रक्रियामा गएको भए धेरै नै राम्रो हुन्थ्यो । नेपालमा कांग्रेस नामको पार्टी नहुदैमा कुनै महाभारत हुँदैन । तर, अहिलेको अवस्थामा राजनीतिक दलहरु र त्यसमा पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी कमजोर बनाउनु भनेको संविधानसभाले बनाएको २०७२ को संविधान सकिनु हो । त्यो संविधान सकिदा के–के सकिन्छ भन्ने हेक्का गगन थापाले राख्नुपर्छ ।
विशेष महाधिवेशनमा गगनले सभापतिको लागि विश्वप्रकाश शर्मालाई अघि सार्दैछन् भन्ने कुरा सबै कांग्रेसीलाई थाहा छ । केही महिनाको लागि विश्वलाई शिखण्डी बनाएर त्यसपछिको सभापति आफू बन्ने गगनको योजना गोप्य छ भन्ने भ्रममा उनीहरु नबसे हुन्छ । यति मात्रै होइन, जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते युथ कंग्रेसले गगनको लागि के कस्तो भूमिका खेलेको थियो भन्ने पनि स्पष्ट भइसकेको छ ।
संविधानसभाबाट संविधान बनाउने पार्टीहरु अहिले बलियो बन्नुपर्ने राजनीतिक परिस्थिति छ । फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन भएन भने ठूलो समस्या सिर्जना हुन्छ । र, त्यही समयमा चुनाव भयो भने त्योभन्दा ठूलो समस्या आउँछ । किनभने रवि, बालेन र कुलमानले निर्वाचनको माध्यमबाट सत्तामा पुगेर मच्चाउने उपद्रो सहन गर्ने क्षमता नेपाल र नेपालीको बन्यो भन्नेमा शंका नै छ ।
अर्काे कुरा, जेनजी प्रदर्शनले नेपालको संविधान खारेज गरिदियो । संविधान खारेज गरेकै कारण शुशीला कार्की नेतृत्वमा सरकार बन्यो र प्रतिनिधिसभाको सदस्य नै नभएको व्यक्तिबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरियो । अब यो संविधान अस्तित्वमा आउन संविधानसभाबाट संविधान बनाउने पार्टीहरु बलियो हुनुपर्छ । अन्यथा यो संविधान सकियो । अहिले हामीले प्रयोग गरेर स्वतन्त्रता संविधान प्रदत्त स्वतन्त्रता होइन । अहिलेको सरकारले २०७२ को संविधान म चिन्दिनँ भन्दिन सक्छ, पाउँछ । परिस्थिति अझै पनि अनुकुल छैन भन्ने विश्लेषण गरेर मात्रै अहिलेसम्म सरकारले त्यसो नभनेको हो । अनुकल समयमा यो सरकारले संविधान खारेजीको सुचना निकाल्छ, तानाशाही लाद्छ ।
यो तथ्य बुझ्नको लागि परराष्ट्र मन्त्री नियुक्तिको विषय नै काफी छ । अवकाशप्राप्त जर्नेल बालानन्द शर्मालाई यस्तो समयमा, कसले र किन परराष्ट्र मन्त्री बनायो ? सरकारले कस्तो अवस्थामा पूर्वजर्नेलबाट प्राप्त हुने कुटनीतिक लाभ देशका लागि जरुरी छ भन्ने ठान्छ ? स्पष्ट छ– सेनाले संसारभर कुटनीतिक संयन्त्रसँग सरकार भएर परामर्श गरिरहेको छ, नेपाली सेना अव मिले निर्वाचित सरकारको नाममा डमी प्रधानमन्त्री बनाएर र नमिले आफै अघि बढेर सरकार चलाउँदैछ । यसैको रिहर्सलमा अस्वभाविक व्यक्तिहरु धेरै महत्वपूर्ण वा प्रभावशाली व्यक्तित्व जसरी पर्दामा देखाइदैछ ।
फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन, भयो भने कुन पार्टीले बहुमत ल्याएर सरकार बनाउँला भन्ने विषय अहिलेको विषय नै होइन । फागुन २१ पछि यो देशमा लोकतन्त्र रहन्छ कि रहदैन, २०७२ सालमा संविधानसभाले बनाएको संविधान फेरि अस्तित्वमा आउँछ कि आउँदैन, नागरिक अधिकार र व्यक्तिगत स्वतन्त्रताको अवस्था के हुन्छ भन्ने मुल प्रश्न हो ।
अहिले मस्तिष्क चल्न छोडेको तर मृत घोषणा नगरिएको संविधान फेरि जिवित गराउनको लागि कांग्रेस, एमाले, नेकपा र रास्वपा बलियो हुनुपर्छ । प्रचण्डले नेकपा जोगाए । उनको पार्टी जोगिएको छ । यस्तै, नेकपा एमाले जेनतेन जोगिएको छ । योगेश भट्टराईलाई शिखण्डी बनाएर एमालेमा जे गर्न खोजिएको थियो, केपी ओलीले त्यो गर्न दिएनन्, प्रयास अझै जारी रहेकोले एमाले पनि जोखिममा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हुर्कनै दिइएन । जुन दिन बालेन र कुलमानलाई रास्वपामा प्रवेश गराइयो, त्यही दिन रास्वपा सिसाको महल भयो । अहिले रास्वपा ठूलो जस्तो त देखिन्छ तर जुनसुकै समयमा पनि झरामझुरुम फुटेर धुलोपिठो हुन सक्छ । कुलमान र बालेन भित्रनुअघिसम्म रास्वपाबाट लोकतन्त्र रक्षाको आशा गर्न सकिन्थ्यो । अब सकिदैन, रास्वपा परालको कुन्यू जस्तो ठूलो देखिने ओजनविनाको थुप्रो हो ।
यहाँ सबैभन्दा ठूलो विषय नेपाली कांग्रेस हो । कांग्रेस सिध्याउन गगन थापा प्रयोग गरियो । गगन थापालाई नेपाली कांग्रेस विभाजन गर्ने जिम्मेवारी दिइएको छ । गगनको नयाँ दलमा योगेश भट्टराई, जनार्दन शर्मा, कुलमान घिसिङ, बालेन्द्र शाह, सुमना श्रेष्ठ, रामकुमारी झाक्री, डा. स्वर्णिम वाग्ले, सुदन गुरुङसहितका केही जेनजी समुह, मानुषी यमि भट्टराईलगायत समाहित हुने पटकथाले नै कांग्रेसमा विशेष महाधिवेशनको अभिनय मागेको थियो । तर, गगनले कांग्रेस फुटाउन ढिला गरेका कारण योगेश र रामकुमारी अर्काे बाटो लागिसकेका छन् । कुलमान घिसिङ, बालेन्द्र शाह र सुमना श्रेष्ठहरु भने अझै पनि गगनको बाटो हेरेर बसिरहेका छन् ।
गगन थापालाई कांग्रेसका विद्रोही नेता भनेर चित्रित गरिन्छ । जेनजी प्रदर्शनपछिको गगनको भूमिका र गतिविधिले उनी विद्रोही भन्ने देखाउँदैन । उनी वर्तमान संविधान, लोकतन्त्र र नेपाली कांग्रेसको द्रोही बन्ने सम्भावनाको नजिक पुगिसकेका छन् । आशा गरौं– कसैले गगनलाई यो महाभूल गर्नबाट रोक्न सक्नेछ र भृकुटीमण्डपतिर बरालिएर अलपत्र पर्न लागेका गगन–विश्वलाई कसैले हात समाउँदै फेरि सानेपा लगेर लोकतन्त्र, राजनीति र परिपक्कताको बारेमा कखरादेखि अध्यापन सुरु गराउने छ ।




