राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न गगन थापाको माग, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले बाढीका कारण उत्पन्न विपद्को अवस्थामा भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय र आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न अपिल गरेका छन्। उनले तिनै तहका सरकारबीच आवश्यक समन्वय गरी तत्काल प्रभावकारी उद्धार तथा राहत कार्यमा केन्द्रित हुन सरकारसँग माग गरेका छन्। विपद् व्यवस्थापनमा सरकारले चाल्ने प्रयासहरूमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि उनले जनाएका छन्।

यसैगरी, थापाले नेपाली कांग्रेसका सम्बन्धित जिल्ला समितिहरू—विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाका नेतृत्व तथा सम्पूर्ण सदस्यहरूलाई तटीय क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्न, उद्धार तथा राहत कार्यमा तुरुन्त खटिन र सहयोग पुर्‍याउन निर्देशन दिएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update