Odapalika - The Fourth Estate - चौथो अंग
रोकिएन कांग्रेस विशेष महाधिवेशन पक्षधर, यस्तो आयो निर्वाचन कार्यतालिका

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका आएको हो । हिजोको बन्दशत्रमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति विघटन गर्ने प्रस्ताव पारित भएको थियो । यसैकारण नयाँ नेतृत्वको लागि कार्यतालिका ल्याइएको हो ।

nirwachan-karyatalika-1768290153.jpg
निर्वाचन समितिले दिएको जानकारी अनुसार नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता गरिने भएको छ । दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय दिएको छ ।
उम्मेदवारको नामावली दिउँसो साढे ४ बजे प्रकाशन हुनेछ । साढे ४ देखि ५ बजेसम्म उम्मेदवारीमाथि दाबीविरोधको समय निर्धारण गरिएको छ । 
उम्मेदवारीमाथिको दाबीविरोधको छानबिन साँझ ५ देखि साढे ५ सम्म, उम्मेदवारको मनोनयन दर्ता फिर्ता साढे ५ देखि साढे ७ बजेसम्म निर्धारण गरिएको छ निर्वाचन समितिले जानकारी दिएको छ ।
राति ८ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने ९ बजेदेखि मतदान शुरू हुनेछ । मतदानका लागि समय राति १ बजेसम्म तोकिएको छ । 
मतदान सकिएलगत्तै गणना गर्ने र गणना सकिएलगत्तै परिणाम घोषणा हुने छ ।
वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ । सोही समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।
सहमतिका लागि भएको प्रयास विफल भएपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अगाडि बढेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा भएको विशेष महाधिवेशनमा ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी छन् ।
५१ प्रतिशतभन्दा बढी प्रतिनिधिले नेतृत्व परिवर्तन गर्न सक्ने संविधानविद्हरूले बताउँदै आएका छन् । 
नयाँ नेतृत्व चयन छाडेर सहमतिका लागि वार्ता गरेको भन्दै महाधिवेशनस्थल बाहिर नाराबाजी भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update