काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनको मनोनयन पत्र दर्ताको समय साढे ४ घण्टा पछि सारिएको छ ।
यसअघि २ देखि ३ बजेसम्मको लागि तोकिएको समय संशोधन गर्दै साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्मको लागि समय सारिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
अहिले मनोनयनको निम्ति फारम वितरण भइरहेको छ ।
सोमबारको बन्द सत्रले ध्वनि मतले पारित गरेको कार्य विधिअनुसार नयाँ केन्द्रीय समिति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो।
सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहन्छन्। त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन्।पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ।
सभापतिको फाराम लाने ३ जना को हुन् ?
निर्वाचन समितिले दिएको जानकारी अनुसार दिउसो साढे ३ बजेसम्ममा सभापति पदमा ३ वटा र अन्य पदाधिकारीका २७ वटा गरी ३० वटा फाराम लगिएको छ । फाराम लाने समयमा शुल्क तिर्नु नपर्ने भएकोले कसले फाराम लगेको भन्ने जानकारी निर्वाचन समितिसँग छैन । उम्मेदवारले फाराम बुझाउँदा शुल्क पनि बुझाउनु पर्छ ।
सभापति पदमा उम्मेदवार हुन ३० हजार, उपसभापति र महामन्त्री पदमा उम्मेदवार हुन २५ हजार, सहमहामन्त्री पदमा २० हजार तथा केन्द्रीय सदस्यको लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।







