Odapalika - The Fourth Estate - चौथो अंग
देउवालाई सभापतिबाट हटाएर उनैको राजीनामा मागिरहेको विशेष महाधिवेशन पक्ष

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पदबाट हटाएको छ ।

यति मात्रै होइन, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई पनि पदबाट हटाएको छ । किनभने सोमबार (पुस २८ गते) विशेष महाधिवेशनमा पेश भएको कार्यविधिमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव थियो भने ध्वनी मतले सो प्रस्ताव पारित गरेको छ ।

सो प्रस्ताव पारित भएसँगै विशेष महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समितिसहित यसअघिका केन्द्रीय निर्वाचन समिति, केन्द्रीय लेखा समिति र केन्द्रीय अनुशासन समिति विघटन भएका छन् । समिति नै विघटन भएपछि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरु स्वतः पदमुक्त भएका छन् ।

विशेष महाधिवेशनले १४औं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समिति भंग गरी नयाँ केन्द्रीय समिति निर्वाचनको प्रक्रिया अघि बढाएको छ । निर्वाचन समितिले आज नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम राखेको छ ।

तर, विशेष महाधिवेशन पक्षधर भने अझै पनि सभापति देउवाको राजीनामा मागिरहेको स्रोतले जानकारी दियो । सभापति देउवाले पदबाट राजीनामा गर्नुपर्ने र फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि कुनै व्यक्तिको हस्ताक्षर चल्ने गरी व्यवस्था गरिनुपर्ने माग विशेष महाधिवेशन पक्षको रहेको स्रोतहरुको भनाइ छ । सो पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्का वा अन्य कुनै नेताको हस्ताक्षर स्वीकार गर्न आफूहरु तयार रहेको विशेष महाधिवेशन पक्षको भनाइ छ ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशन भइरहेको छ । यद्यपि, संस्थापन पक्षले सो महाधिवेशनलाई अवैध भनिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update