काठमाडौँ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विभाजन भएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार विशेष महाधिवशेन आव्हान गरेपछि कलह बढ्दै गएर कांग्रेस विभाजित भएको हो ।
सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षसम्मको लागि साधारण सदस्यबाट पनि निष्कासन गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज (पुस ३० गते) बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय र सहमहामन्त्री मन्सुरलाई कारवाही गर्ने निर्णय गरेको हो ।
यस्तै, महामन्त्रीद्वयको आव्हानमा पुस २७ गतेदेखि काठमाडौको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन जारी छ । सो महाधिवेशनमा ६३ प्रतिशत महाधिवेशन सहभागी भएको आयोजकको दाबी छ ।
सो विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति निर्वाचनको कार्यक्रम सुरु गरिसकेको छ । अर्थात विशेष महाधिवेशनले सभापति देउवासहित १४औं महाधिवेशनको सबै कार्यसमिति विघटन गरिदिएको छ । यसैकारण संस्थापन पक्षले महामन्त्रीद्वय र सहमहामन्त्री मन्सुरलाई कारवाही गरेको हो ।
विशेष महाधिवेशनमा नयाँ नेतृत्वको लागि सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ । अन्य पदमा पनि उम्मेदवारी परेको छ ।
अब नेपाली कांग्रेसकै नाममा शेरबहादुर देउवा सभापति रहेको एउटा र गगन थापा सभापति रहेको अर्काे गरी दुईवटा कार्यसमिति बनेको छ । यसको अर्थ नेपाली कांग्रेस विभाजन भएर २ वटा पार्टी बनेको छ ।





