Odapalika - The Fourth Estate - चौथो अंग
गगन पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक कुपन्डोलको पार्टी प्यालेसमा, किन पुग्न सकेन सानेपा ?

काठमाडौँ । विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित घोषणा गरिएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो कार्य समिति बैठक कुपण्डोलको एक पार्टी प्यालेसमा सुरु भएको छ ।

पुस ३० गते सर्वसम्मत सभापति घोषणा गरिएका गगन थापा नेतृत्वको कार्य समिति बैठक सुरु भएको आयोजकले जानकारी दिएका छन् । विशेष महाधिवेशन पक्षधरले आफूहरु नै आधिकारिक कांग्रेस रहेको जानकारी निर्वाचन आयोगलाई दिनको लागि सो बैठक राखिएको हो ।

यद्यपि, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा छ । तर गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा आयोजना गरिएको छैन भने नयाँ पदाधिकारीले केन्द्रीय कार्यालय गएर कार्यभार संहालेका पनि छैनन् ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति विघटन गरेर विशेष महाधिवेशन पक्षधरले नयाँ केन्द्रीय समिति बनाएको छ । तर, १४औं महाधिवेशनको संस्थापन पक्षले सो विशेष महाधिवेशनलाई अवैध भनिरहेको छ ।

अहिले पनि केन्द्रीय कार्यालय १४औं महाधिवेशनको संस्थापन पक्षको नियन्त्रणमा छ । संस्थापन पक्षका कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा सुरक्षा दिइरहेका छन् ।

यसैबीच हामीले विशेष महाधिवेशन पक्षधरका एक नेतालाई किन केन्द्रीय कार्यालयमा नगई पार्टी .प्यालेसनमा केन्द्रीय समितिको बैठक राख्नुभएको भनेर सोधेका छौं । उनले आफ्नो समुहले वैधता पाउने निश्चत भएकोले निर्वाचन आयोगबाट बैधता पाएपछि मात्रै केन्द्रीय कार्यालय जाने बताए ।

‘अहिले हामी केन्द्रीय कार्यालय गयौं भने झडप हुन सक्छ । हामी त्यो गर्ने मनस्थितिमा छैनौं । निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिन्छ । त्यसपछि केन्द्रीय कार्यालय जाने हो,’ ती नेताले वडापालिकासँग भने ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update