Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आयोगले झापा र उपत्यकालाई किन राख्यो संवेदनशील क्षेत्रमा ? 

काठमाडौं । निर्वाचन आयोगका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यका, झापा र हिमाली जिल्ला संवेदनशील क्षेत्रका रूपमा देखिएका छन् ।

निर्वाचन आयोगले एकीकृत सुरक्षा संयन्त्रसँगको परामर्शमा तयार पारेको आन्तरिक प्रतिवेदनमा यी क्षेत्र संवेदनशील क्षेत्रको रूपमा नक्सांकन गरिएको छ ।  निर्वाचनका लागि मौसमको सम्भावित प्रतिकूलताको विश्लेषण गर्दै हिमाली जिल्लालाई संवेदनशील क्षेत्रको सूचीमा राखिएको आयोगले जनाएको छ । निर्वाचनका अवरोधहरूको विश्लेषण गर्दै आयोगले हुम्ला, कालिकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका निर्वाचन क्षेत्रहरूलाई मौसमका हिसाबले संवेदनशील क्षेत्रका रूपमा राखेको हो । 

काठमाडौं उपत्यका र झापालाई निर्वाचन आयोग र एकीकृत सुरक्षा संयन्त्रले सुरक्षा संवेदनशील क्षेत्रको रूपमा राखेको हो । झापा–५ मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण सम्भावित सुरक्षा संकटको समेत विश्लेषण गरिएको एकीकृत सुरक्षा संयन्त्र स्रोतले बताएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा कार्यकर्ताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गर्न सक्ने सम्भावित अवरोध र त्यसमाथि हुनसक्ने प्रतिकार्यको विश्लेषण गरेर सुरक्षा पूर्वानुमान गरिएको सुरक्षा सम्बद्ध स्रोतले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय झापाले हरेक निर्वाचन क्षेत्रको मिहिन विश्लेषण गर्दै सुरक्षा तयारी गरेको प्रतिवेदन बुझाएका छन् । 

झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २ सय ८५ मतदानस्थलमध्ये १ सय ४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए । जिल्लामा ८ सय १५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए । 

प्रजिअ गेलालले झापा–५ मा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए ।

५ निर्वाचन क्षेत्र रहेको झापामा ७ लाख १३ हजार ५ सय ३७ मतदाता छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update