काठमाडौं । चालु आर्थिक वर्ष २०८२ को पुस मसान्तसम्ममा नेपालका वाणिज्य बैंकहरूको समग्र खुद नाफामा सुधार देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका बैंकहरूले कुल ३० अर्ब ५९ करोड ३९ लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो ।
गत वर्ष पुस मसान्तसम्म बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूको तथ्यांकअनुसार नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा पहिलो स्थानमा रहेको छ ।
नबिल बैंकले पुस मसान्तसम्ममा चार अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ४६.७१ प्रतिशतको वृद्धि हो । दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । जसले तीन अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यता, अझ यस अवधिमा प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा बढाउनेमा कुमारी बैंक देखिएको छ । यो बैंकको नाफा गत वर्षको २७ करोड ५७ लाख ३० हजार रुपैयाँबाट चामत्कारिक रूपमा बढेर दुई अर्ब ७२ करोड ८५ हजार रुपैयाँ पुगेको छ । जुन ८८६.५० प्रतिशतको वृद्धि हो ।
यस्तै, नेपाल बैंकको नाफा १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकको १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२.०४ प्रतिशतले बढेको छ ।
तर, यसबीच सबै बैंकहरूको अवस्था सुखद भने देखिएको छैन । किनभने केही बैंकहरूको नाफामा उल्लेख्य गिरावट आएको छ । सार्वजनिक विवरणअनुसार लक्ष्मी सनराइज बैंक यस अवधिमा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ घाटामा रहेको छ । जबकि गत वर्ष यो बैंक एक अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ नाफामा थियो ।
यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनलको नाफामा ४५.७८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ४३.०५ प्रतिशतको कमी आएको छ । यस्तै, कृषि विकास बैंक, प्रभु बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकको नाफा पनि गत वर्षको तुलनामा घटेको छ ।
यसबीच सबैभन्दा कम नाफा कमाउनेमा एनआइसी एसिया बैंक छ । जस्ले ६ महिनासम्ममा १३ करोड ११ लाख ९१ हजार रुपैयाँ कमाएको छ ।
समग्रमा बैंकहरूले सार्वजनिक गरेको तथ्यांकले बैंकिङ क्षेत्रमा केही बैंकहरूले आक्रामक सुधार गरे तापनि केही ठूला बैंकहरू भने अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको संकेत गरेको देखिन्छ ।







