काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवहरूको भूमिकालाई व्यक्तिगत सहयोगीको परम्परागत भूमिकाभन्दा माथि उठाउँदै संसदीय कामका सक्रिय सहकर्मीका रूपमा विकास गर्ने कार्यदिशा अघि सारेको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजित स्वकीय सचिव अभिमुखीकरण तथा समन्वय कार्यक्रममा सांसदको कामलाई प्रभावकारी बनाउन स्वकीय सचिवले अध्ययन, अनुसन्धान, तथ्य संकलन, समन्वय र अभिलेखीकरणमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा सचेतक क्रान्तिशिखा धितालले स्वकीय सचिवलाई केवल ‘पर्सनल एसिस्टेन्ट’का रूपमा नभई ‘पोलिटिक/पार्लियामेन्टरी एसिस्टेन्ट’का रूपमा बुझ्नुपर्ने बताइन्। सांसदको संसद् प्रस्तुतिलाई तथ्यमा आधारित र प्रभावकारी बनाउन स्वकीय सचिवको अध्ययनशीलता महत्वपूर्ण हुने उनको भनाइ थियो।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले स्वकीय जिम्मेवारीलाई पूर्णकालिक र संस्थागत जिम्मेवारीका रूपमा लिनुपर्ने तथा सांसदको कामलाई व्यवस्थित बनाउन अध्ययन, समन्वय, अभिलेख र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
अभिमुखीकरणमा सांसदका लागि संसद् तथा समितिका एजेन्डा, विधेयक, नीति, बजेट र सार्वजनिक सरोकारका विषयमा आवश्यक तथ्य तथा सन्दर्भ तयार गर्ने, निर्वाचन क्षेत्रका समस्या र नागरिकका गुनासा व्यवस्थित गर्ने तथा सांसदका प्रतिबद्धता र पहलको फलोअप गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको नियमित अनुगमन, तथ्यगत सूचना सम्प्रेषण, गोपनीयता, आर्थिक पारदर्शिता र व्यावसायिक आचरणलाई स्वकीय सचिवको कार्यशैलीको आधार बनाउनुपर्नेमा जोड दिइएको छ।
रास्वपाले स्वकीय सचिवको कामलाई डिजिटल प्रणालीमा लैजाने तयारीसमेत अघि सारेको छ। सांसदका भाषण, प्रश्न, प्रस्ताव, बजेट माग, योजना तथा सार्वजनिक प्रतिबद्धताको व्यवस्थित डिजिटल अभिलेख राख्ने र नियमित फलोअप प्रणाली विकास गर्ने कार्यदिशा तय गरिएको छ।
कार्यक्रमले स्वकीय सचिवको भूमिकालाई ‘सांसदको व्यक्तिगत सहयोगी’ भन्दा ‘संसदीय कार्यसम्पादनको सहयोगी’ का रूपमा स्थापित गर्ने दिशामा जोड दिएको छ।




