काठमाडौं । दुई पटकको विश्व विजेता इङल्यान्डलाई अन्तिम समयसम्म दबाबमा राख्ने नेपालको क्रिकेटिङ कौशलले विश्व समुदायको ध्यान खिचेको छ । क्रिकेटका हस्तीहरूले नेपालले देखाएको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन् ।
भारतीय पूर्वक्रिकेटर तथा कमेन्टेटर सन्जय मन्जेरकरले नेपाल निकट भविष्यमै क्रिकेटको नयाँ शक्ति बन्ने बताएका छन् । नेपालको हार नमान्ने र जोशिलो स्वाभावले क्रिकेटको बलियो शक्ति बनाइरहेको उनले बताएका छन् । 'अफगानिस्तानपछि नेपाल नै क्रिकेटको बलियो शक्ति बन्ने क्षमता भएको मुलुक हो । नेपालले पेस र बाउन्स दुवैमा जोशिलो ब्याटिङको क्षमता प्रदर्शन गरेको छ,' उनले एक्समा उल्लेख गरेका छन् ।
कमेन्टेटर आकाश चोप्राले नेपालले इङल्यान्डसामु देखाएको खेल कौशलप्रति भनेका छन्,''वेल फाउट नेपाल ।'
भारतीय पूर्वक्रिकेटर तथा विश्वकप च्याम्पियन समेत बनेका युवराज सिंहले नेपालप्रति सम्मान व्यक्त गरेका छन् । नेपालको खेल कौशललाई विश्व क्रिकेटले नियालिरहेको उनको भनाइ छ । नेपालले च्याम्पियन बन्ने सम्भावना देखाएको उनको टिप्पणी छ । 'मनैदेखि दृढ संकल्प राखेर मैदानमा उत्रिँदा के हुन्छ भन्ने कुरा नेपालले प्रमाणित गरेको छ । च्याम्पियनको उदय यसरी नै हुने हो । टिम यसरी नै बलियो बन्ने हो,' उनले भनेका छन् ।
भारतीय पूर्व क्रिकेटर तथा विश्वकप च्याम्पियन इरफान पठानले इङ्ल्यान्डलाई नेपालले दिएको दबाब हेर्न लायक रहेको बताएका छन् । ''नेपाल राम्रै लयमा रह्यो, इङल्यान्डमाथि उसले निकै उत्कृष्ट प्रदर्शन गर्यो,' उनको भनाइ छ ।
दक्षिण अफ्रिकाका पूर्व बलर डल स्टेनलले नेपाललाई सहयोग गर्न आफू जुनुसुकै बेला पनि तयार रहेको बताएका छन् ।
इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले नेपाली टिमले निकै राम्रो क्रिकेट खेलेको प्रतिक्रिया दिएका छन् ।
नेपालले आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्यान्डसँग चार रनको साँघुरो हार बेहोरेको थियो । खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । चार रनको झिनो जितपछि इंग्ल्यान्डका कप्तान ब्रुकले नेपाली टिमको प्रशंसा गरेका हुन् ।
“उनीहरूले धेरै राम्रो खेले । आदिल रसिदलाई उनीहरूले जसरी कुनै पनि टिमले खेल्न सकेका थिएनन् । म उनीहरूलाई आगामी खेलका निम्ति शुभकामना दिन चाहन्छु,” ब्रुकले भने ।
यस्तो थियो नेपालको इनिङ्स
नेपाललाई जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता थियो । तर, नेपालले अन्तिम ओभरमा पाँच रनमात्र बनाउन सक्यो । नेपालका निम्ति दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।
४२–२ को स्थितिमा ब्याटिङका निम्ति आएका दीपेन्द्रले कप्तान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका निम्ति ८२ रनको साझेदारी गर्दै नेपालको मध्यक्रमलाई मजबुत बनाएका थिए ।
तर, १४.२ ओभरमा दीपेन्द्र आउट भए । यसअघि नेपालले स्कोरबोर्डमा दुई रनमात्रै थप्दा कप्तान रोहितलाई पनि गुमाए । त्यसपछि मध्यक्रममा पुनः दबाब बढेको थियो । रोहितले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन थपे ।
लोकेश बमले आक्रमक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए । उनले १९५ को स्ट्राइक रेटमा ब्याटिङ गर्दा चार चौका र चार छक्का प्रहार गरे ।
नेपालले १७.२ ओभरमा आरिफ सेखलाई गुमायो । आरिफलाई जोफ्रा आर्चरले विकेटकिपर जस बटलरबाट क्याच गराएका थिए । आरिफले आठ बल खेल्दा एक छक्कासहित १० रन जोडे ।
त्यसअघि ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाउँदै नेपाललाई राम्रो सुरुआत दिलाउने प्रयास गरेका थिए । चार चौका र एक छक्का प्रहार गरेका कुशललाई विल ज्याक्सले ५.२ ओभरमा ‘कट एन्ड बोल्ड’ गर्दै पभेलियन फर्काएका थिए । अर्का ओपनर आसिफ सेख भने सस्तैमा आउट भए । उनले नौ बलमा एक चौका प्रहार गर्दा सात रन बनाए ।
इंग्ल्यान्डका लियम ड्वसनले दुई विकेट लिए । चार ओभरमा उनले २१ रन खर्चिए । जोफ्रा आर्चर, लुक वुड, विल ज्याक र साम करनले समान एक विकेट विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको हो ।
इंग्ल्यान्डका ज्याकोब बेथेलले ५५ रन जोडे । उनले ३५ बलमा चार चौका र चार छक्का प्रहार गरे । ५७–३ को स्थितिबाट ज्याकोबले कप्तान ह्यारी ब्रुकसँग पाँचौँ विकेटका निम्ति ७१ रनको साझेदारी गर्दै इंग्ल्यान्डको मध्यक्रम सम्हालेका थिए ।
ब्रुकले ५३ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । जस बटलरले १७ बलमा २६ रन थपे । अर्का ओपनर फिल साल्टलाई भने नेपालका शेर मल्लले एक रनमै पभेलियन फर्काएका थिए ।
नेपालका दीपेन्द्रले इंग्ल्यान्डका करनलाई बोल्ड गरे । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो खेल हो । दुई रन बनाएका टम बान्टमलाई सन्दीप लामिछानेले एलबीडब्लूको धरापमा पारे ।
नेपालका दीपेन्द्र र नन्दन यादवले समान दुई विकेट लिए । दीपेन्द्रले इंग्ल्यान्डका ज्याकब बेन्थेल र साम करनलाई पभेलियनको दिशा देखाएका थिए । नन्दनले जस बटलर र ह्यारी ब्रुकलाई आउट गरे ।
सन्दीप लामिछाने र शेरको नाममा एक–एक विकेट लिए । सन्दीपले टम बान्टम र शेरले फिल साल्टको विकेट लिए । आजको खेलसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका शेरको यो पहिलो विकेटसमेत हो ।







