Odapalika - The Fourth Estate - चौथो अंग
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नको लागि भन्दै नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट राजीनामा दिएका बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना कानुन उल्लघन गरिरहेको एक कम्पनीको संचालक समिति सदस्यमा नियुक्त भएका छन् ।

ढुंगाना एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त भएका हुन् । उनलाई फागुन १२ गते विहान बसेको संचालक समितिको १६०औं बैठकले स्वतन्त्र संचालकमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । ढुंगाना नेपाल राष्ट्र बैंकमा पनि काम गरिसकेका स्थापित र सम्मानित बैंकरको रुपमा परिचित छन् ।

तर, ढुंगानालाई स्वतन्त्र संचालक नियुक्त गरेको कम्पनीले अहिले कानुनको उल्लघन गरिरहेको छ । कम्पनी ऐन २०६३ मा महिला सेयरधनी पनि रहेको कम्पनीमा कम्तिमा एक जना संचालक महिला हुनै पर्ने भन्ने व्यवस्था भएपनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ऐनको सो व्यवस्था पालना गरेको छैन ।

कम्पनी ऐन २०६३ को दफा ८६(२) मा महिला पनि सेयरधनी रहेको पब्लिक कम्पनीको संचालक समितिमा कम्तिमा एक जना महिला हुनै पर्ने भन्ने व्यवस्था गरेको छ । तर एनआरएनमा ४ जना संचालक छन् । अब स्वतन्त्र संचालकको रुपमा ढुंगानाको प्रवेशपछि कम्पनी संचालक समितिमा ५ जना सदस्य भएका छन् ।

अब रोचक कुरा त के छ भने सो कम्पनीको संचालक समिति अध्यक्ष सिताराम थपलिया छन् । थपलिया पुँजी बजारको फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वसिइओ पनि हुन् । पब्लिक कम्पनीलाई कानुनको पालना गराउने दायित्व नेप्सेको पनि हो । तर, थपलिया पूर्वसिइओ हुन् ।

कम्पनीको अर्का संचालक तिलक कोइराला छन् । कोइराला पूर्वपत्रकार हुन् उनी पत्रकारितासँगै सेयर बजारको कारोबारमा छिरेका थिए । पत्रकारिता र सेयर कारोबार सँगै गरेको समयमा कोइराला सेयर बजारमा सुधार हुनुपर्ने, कानुनी व्यवस्थाको प्रभावकारी पालना हुनुपर्ने, बजार र लगानीकर्तामैत्री नियम कानुन बन्नुपर्ने जस्ता माग राखेर अनसन बसी चर्चामा आएका व्यक्ति हुन् । 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update