काठमाडौँ । नेपालको सेयर बजारमा अनौठा मान्छेहरुले उदेकलाग्दो गतिविधिलाई निरन्तरता दिएका छन् ।
जेनजी प्रदर्शनका क्रममा ७५ जनाभन्दा बढीको निधन, संसद भवन, सिंहदरबार, सर्वाेच्च अदालत जस्ता सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटपछि भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाई मत ल्याएर सरकार गठन गरिसक्यो । तर ती अनौठा मान्छेहरु पहिला जस्तै उदेकलाग्दो गतिविधिलाई भने निरन्तरता दिइरहेका छन् ।
सेयर बजार घटेको समयमा केही व्यक्तिहरुले कहिले संस्थाको नाम बोकेर त कहिले व्यक्तिगत रुपमा नै लगानीकर्ताको प्रतिनिधि भन्दै सरकारी अधिकारी, नियमक र बजार संयन्त्रलाई त्रसित बनाउन खोज्ने गरेका छन् । कम्पनी रजिष्टारको कार्यालयमा गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका कम्पनीको संचालहरु आफूलाई सेयर लगानीकर्ताको प्रतिनिधि भएको दाबी गर्दै नीति निर्माणमा पहुँच बनाएर व्यक्तिगत लाभ लिइरहेका छन् ।
विगतका सरकारले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका कम्पनीका संचालहरुलाई लगानीकर्ताको संघ संस्थाको नाममा अर्थ मन्त्रालय, धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज जस्ता पुँजी बजारसँग सम्बन्धित राज्यका निकायहरुमा नीति निर्माणको लागि हुने छलफलमा सहभागी गराउने गल्ती गरेका थिए । झण्डै दुईतिहाई मतको रास्वपा सरकारले पनि विगतको सो तितो अनुभवलाई निरन्तरता दिने गल्ती गर्न थालेको छ । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका सेयर लगानीकर्ता भन्ने नाम जोडिएका कम्पनीका संचालकहरु आफू सेयर लगानीकर्ताको प्रतिनिधि भएको बार्गेनिङ गरेर सरकारी कम्पनीको संचालक समेत हुन भ्याएका छन् ।
सेयर लगानीकर्ताको नाम जोडिएको एउटा संस्था नेपाल इन्भेष्टर फोरम भन्ने छ । सो संस्थाको अध्यक्ष तुल्सीराम ढकाल हुन् । ढकाल यही संस्थाको नाममा सेयर लगानीकर्ताको हितको लागि भन्दै सरकारको नीति निर्माण प्रक्रियामा सहभागी हुन्छन् । अहिले ढकाल चिलिमे हाइड्रोपावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनीको संचालक छन् । यी दुबै कम्पनीमा नेपाल विद्युत प्राधिकरणको लगानी छ । नेपाल विद्युत प्राधिकरण सरकारको शतप्रतिशत लगानी भएको सार्वजनिक संस्थान हो ।
सेयर लगानीकर्ताकै नाममा खुलेको अर्काे संस्था नेपाल पुँजी बजार संघ भन्ने छ । यसको अध्यक्ष राधा पोखरेल हुन् । पोखरेल पनि सेयर लगानीकर्ताको प्रतिनिधि हूँ भन्दै राज्यका निकायहरुको सेयर बजारसँग सम्बन्धित नीति निर्माणमा सहभागी हुन्छिन् । सेयर लगानीकर्ताको हितको लागि भन्दै गतिविधि गर्ने पोखरेल विशाल बजार कम्पनीकाे संचालक छन् । विशाल बजारमा सरकारको करिब शतप्रतिशत लगानी छ ।
सेयर बजारका अर्का अनौठा पात्र हुन तिलक कोइराला । उनको फेसबुक स्ट्याटस हेर्ने हो भने उनी नेपालको अर्थमन्त्रीलाई निर्देशन दिने हैसियत राख्ने व्यक्ति जस्तो देखिन्छन् ।
चैत १९ गते विहान ८ बजे उनले फेसबुकमा एउटा स्ट्याटस लेखे– ‘हिजो अर्थमन्त्रीलाई भेटेर फटाफट कामले लगानीकर्तालाई विश्वासमा लिनुस भनेको छु, अब बल उहाँकै हातमा छ ।’ उनको यो स्ट्याटस पढ्दा लाग्छ– तिलक कोइरालाले भनेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मानेनन् भने वाग्ले गम्भीर समस्याको कारकका रुपमा प्रमाणित हुनेछन् । वा तिलक कोइरालाले अर्थमन्त्री वाग्लेलाई पदबाट हटाउने छन्, अन्य कुनै प्रकारले दण्डित गर्ने छन् ।
कोइरालाले फेसबुक स्ट्याटसबाट अर्थमन्त्री डा. वाग्लेको मोबाइल नम्बर सार्वजनिक गरी सेयर बजारको बारेमा डा. वाग्लेलाई भन्न पनि आग्रह गरेका छन् । उनको यो स्ट्याटस पढ्दा लाग्छ– देशभरका सेयर लगानीकर्ताले तिलक कोइरालालाई भनिरहेका छन्– प्रभु ! हाम्रो जीवन अन्धकारमय हुने भयो, हाम्रो लगानी खरानी भयो, हजुर नै हाम्रो आराध्य हो, हाम्रो जीवन सार्थक बनाइदिनोस्, हाम्रो लगानी बचाइदिनोस् ।
तिलक कोइरालाले चैत २२ गते ३ बजे ‘ज्युदा लगानीकर्ता’लाई सिंहदरबारको दक्षिण गेटमा भेला हुन फेसबुकमार्फत निम्ता गरे । नभन्दै उनी सहितका केही मान्छे सिंहदबारको दक्षिण गेटमा भेला भए । प्रहरीले त्यहाँ हुलहुज्जत गर्न नदिएपछि कोइरालाको समुह रास्वपा कार्यालय गयो । उनले सोही दिन दिउसो ४ः११ बजे फेसबुकमा लेखेका थिए– अब हामी सिंहदरबारबाट रास्वपा पार्टी कार्यालयमा धर्ना बस्न जादैछौं, सबै आउनु होला ।
सेयर बजारको मसिहा जसरी प्रस्तुत भइरहेका तिलक कोइराला सिटी होटलको संचालक हुन् । सिटी होटलको आइजिन एउटै राखेर प्रमोटरले गैरकानुनी रुपमा महंगोमा सेयर विक्री गरेको अभियोगमा अहिले पनि राज्यका निकायहरुले अनुसन्धान गरिरहेका छन् । सिटी होटलले अहिलेसम्म सेयरधनीलाई एक पैसा पनि लाभांश दिएको छैन भने सो होटलको प्रोजेक्ट पूरा भएपछि हकप्रद सेयर जारी गरेर सेयरधनीलाई ठग्ने काम गरेको छ । तर, कोइराला यी विषयमा मौन छन्, सार्वजनिक रुपमा सेयर लागनीकर्ताको मसिहा देखिन खोज्छन् ।
यस्तै, तिलक कोइराला एभरेष्ट भेन्चर्स लिको अध्यक्ष र सिइओ पनि हुन् । सो कम्पनी पब्लिक कम्पनी भएपनि सेयर जारी भने गरेको छैन । तिलक कोइरालाको एभरेष्ट भेन्चर्सकै जस्तो काम गर्ने एनआरएन इन्फ्राले भने आइपिओ जारी गरेको छ । कोइराला अहिले एनआरएन इन्फ्राको बोर्ड डाइरेक्टर हुन् । पब्लिक कम्पनीको डाइरेक्टरले सर्वसाधारणलाई बोलाएर सरकार विरुद्ध सिंहदरबार गेटमा प्रदर्शन गर्न मिल्छ ? यसमा सरकारको गम्भीर कमजोरी देखिन्छ ।
अर्थमन्त्री डा. वाग्लेले २०४८ पछिको सबैभन्दा प्रभावकारी आर्थिक सुधारको प्याकेज ल्याउन लागिएको बताइरहेका छन् । उनी अर्थमन्त्री भएपछि सेयर बजार भने घटिरहेको छ । बजार घटेका कारण मन्त्री वाग्ले चिन्तित देखिएका पनि छन् । तर, डा. वाग्लेले व्यक्तिगत स्वार्थका लागि सेयर लागनीकर्ताको प्रतिनिधि हूँ भन्ने गलत पात्र र संस्थाबाट नीति निर्माण प्रक्रियालाई जोगाएर सेयर बजारलाई कसरी लगानीकर्तामैत्री बनाउँछन्, त्यो भने प्रतिक्षाकै विषय भएको छ ।






