मुक्तिनाथबाट फर्कँदै गरेका भारतीय तीर्थयात्री सवार गाडी म्याग्दीमा दुर्घटना

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वर नजिकै माइक्रोबस दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित छ जना घाइते भएका छन्।

मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको ग१ज ८४३६ नम्बरको इभी बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलेश्वरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

एक जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र पाँच जनाको प्रदेश अस्पताल बेनीमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिइन्। 

दुर्घटनामा भारतका २६ वर्षीया दिना मादी, ३६ वर्षीय त्रिवेणी भारत, ५० वर्षीय प्रमोदशङ्कर यादव, २८ वर्षीय कैलाश देयानी, ७० वर्षीय निरन्जन दास खन्ना र आबुखैरेनी–२ तनहुँका २२ वर्षीय सन्तोष भुजेल घाइते भएका छन्।

जलेश्वरमा बुधबार अपराह्न पनि ट्रक र बस ठोक्किँदा मुक्तिनाथ दर्शन गरेर फर्कँदै गरेका १५ जना तीर्थयात्री घाइते भएका थिए। 

पन्ध्र जना सवार गाडी गुडिरहेको अवस्थामा एक्कासी अनियन्त्रित भएर सडकको कुनामा ठोक्किएर दुर्घटना भएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update