देउवा पक्षको ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न, कुन प्रदेशमा कतिमा भयो ?

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गते देशभरका ३ हजार १९१ वटा वडामा अधिवेशन सम्पन्न गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार देशभर रहेका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडाको अधिवेशन सम्पन्न भएको हो । यो कुल वडाको करिब ४७ प्रतिशत हो ।

कांग्रेसले असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । निर्धारित समयमा अधिवेशन सम्पन्न हुन नसकेका बाँकी वडामा क्रमशः अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी वडाको अधिवेशन असोज १८ गतेसम्म सम्पन्न गर्ने तयारी रहेको समितिले जनाएको छ ।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशका १ हजार १५७ वडामध्ये ५७७, मधेश प्रदेशका १ हजार २७१ मध्ये ४०२, बागमती प्रदेशका १ हजार १२१ मध्ये ५६३, गण्डकी प्रदेशका ७५९ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका ९८३ मध्ये ४५०, कर्णाली प्रदेशका ७१८ मध्ये २५७ र सुदूरपश्चिम प्रदेशका ७३४ मध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिको विवरणमा उल्लेख छ ।
deuba-congress-1790929882.jpg
केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जारी गरेको विज्ञप्तिमा बाँकी रहेका वडाहरूमा समेत अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढिरहेको जनाइएको छ ।

समितिले केही स्थानमा बाढी–पहिरो तथा अन्य कारणले निर्धारित समयमा अधिवेशन हुन नसकेको जनाएको छ । त्यस्ता स्थानमा पनि अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update