सरोकारवालाले भने– बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिनुपर्छ

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सरोकारवाला अधिकारीहरुले बताएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले पुस्तक रहित शुक्रबार कार्यक्रमको समीक्षा गर्न आयोजना गरेको कार्यशालामा यस्तो सुझाव आएको हो । 

महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ र कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीहरुको संख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा विषय र उपसमूह निर्धारण गरिएका छन् । 

यसरी सञ्चालन गरिएका कार्यक्रमबाट प्राप्त भएका उपलब्धीको मापन गर्ने, प्राप्त नतिजा तथा सिकाइलाई संस्थागत रुपमा विकास गर्ने, साझेदारको पृष्ठपोषणलाई चालु शैक्षिक सत्रको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि आधार लिने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।  

समीक्षामा बोल्दै विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकहरुले विद्यालयलाई आत्मनिर्भर र शिक्षकहरुलाई क्षमता विकास गराउँदै लैजानु पर्नेमा जोड दिए ।

‘गएका शैक्षिक सत्रमा सञ्चालन गरिएका कार्यक्रमको सवल र दुर्वल पक्ष जान्नका लागि हामीले समीक्षा कार्यक्रम गरेका हौँ । हामी कार्यान्वयनयोग्य नीति कार्यक्रम बनाउन चाहन्छौँ । यसका लागि जो कार्यान्वयन तहमा हुनुहुन्छ । उहाँहरुले कस्ता कार्यक्रम कार्यान्वयन गर्न सक्नुहुन्छ । उहाँहरुको धारणा र क्षमता वुझेर त्यही प्रकारका नीति र कार्यक्रम तर्जुमा गर्छौँ । यसले नतिजा प्राप्त गर्न सहज हुनेछ,’ कार्यक्रममा बोल्दै महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने ।

समीक्षामा समूह विभाजन र कार्यशालामार्फत सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रम सम्बन्धी छुट्टाछुट्टै पृष्ठपोषण लिइएको छ । 

‘वडाहरुलाई २ समूहमा विभाजन गरेर पृष्ठपोषण लिइरहेका छौँ ।’ शिक्षा अधिकारी नमराज ढकालले भने,  ‘विगतका कार्यक्रमले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमताको विकास गराएको, रचनात्मकता बढाएको, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेकोले नतिजामुखी रहेको पृष्ठपोषण प्राप्त गरेका छौँ । सबैबाट पृष्ठपोषण आएपछि विश्लेषणसहितको आगामी कार्यक्रमको ढाँचा निर्धारण गर्नेछौँ ।’

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र शिक्षा नियमावली २०५९ मा विद्यार्थीलाई भविष्यमा पेसा तथा व्यवसायमा संलग्न हुन आवश्यक पर्ने व्यवहारकुशल सिपहरूलाई पाठ्यक्रमले सम्बोधन गर्नुपर्छ भन्ने मर्म बोकेको छ ।’ छलफलमा प्रस्तुतिकरण गर्दै शिक्षा अधिकृत केशव ज्ञवालीले भने, ‘सङ्घीय सरकारका अलावा प्रदेश र स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्था, समुदायमा आधारित सिप विकास कार्यक्रमसँग आबद्ध निकायहरूसँग समन्वय र साझेदारी गरेर रोजगारउन्मुख शिक्षा प्रवर्धन गर्ने पाठ्यक्रम सम्बन्धी नीतिको व्यवस्थालाई कार्यरूप दिन महानगरपालिकाले सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रम प्रभावकारी छ ।’

उनले परिवर्तित सन्दर्भमा कुरा गर्दै शनिवार र आइतबार विद्यालय विदा गर्ने नेपाल सरकारको निर्णयका आधारमा विगतका कार्यक्रम सञ्चालनको प्रारुपका सन्दर्भमा थप निर्णय हुनुपर्ने अवस्था रहेको बताए ।

शिक्षा नियमावली २०५९ ले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकासका लागि शुक्रबारको दैनिक पठनपाठनको कार्य समाप्त भएपछि चित्रकला, हस्तकला, बाद्यबादन, नृत्य, नाटक, वक्तृत्वकला, हाजिरी जवाफ, हिज्जे, साहित्यिक क्रियाकलाप गर्नु पर्ने व्यवस्था गरेको छ । 

विद्यालयले कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि ८३२ घण्टा, ४ देखि ८ सम्मका लागि १ हजार २४ घण्टा र कक्षा ९ र १० का लागि १ हजार १८४ घण्टा कक्षा सञ्चालन गर्नुपर्छ । 

वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीले भने, ‘महानगरपालिकाले शैक्षिक तथा सिपमूलक कार्यक्रमलाई समुदायसँग जोडेर अगाडि बढाउन कार्यक्रमलाई जोड दिएको छ ।’

गएको वर्ष सिर्जनात्मक सिकाइ अन्तर्गत २३ वटा विषयमा ७०५ वटा उपसमूहमा क्रियाकलाप सञ्चालन भएका थिए । वरिष्ठ विद्यालय निरीक्षक विनिता महतका अनुसार सबैभन्दा धेरै विद्यार्थीको रुचि वातावरण र बालबालिका (वावा) उपसमूहमा थियो । त्यसपछि स्टीम )विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार) उपसमूह र तेस्रोमा नृत्य उपसमूहमा थियो । 

यी समूहहरुमा  क्रमशः ८२ वटा, ७४ वटा र ६७ वटा उपसमूह गठन गरिएका थिए । निर्धारित विषयमध्ये धाः बाजा वादनमा विद्यार्थीहरुको रुचि देखिएन । यसकारण यो विषयमा कुनै पनि उपसमूह गठन भएन । थोरै उपसमूह गठन भएका विषयहरुमा डम्फु, हस्तकला हुन् । यी विषयमा क्रमशः ४ वटा र ६ वटा उपसमूह गठन भएका थिए । तेस्रोमा बाँसुरी र कथावाचनमा १०–१० वटा उपसमूह गठन गरिएका थिए ।

२३ वटा विषयमा स्काउट, वावा, व्यक्तित्व विकास, स्टीम, उद्यमशील सोच, पठन संस्कार, योग र ध्यान, विपद व्यवस्थापन, भित्ते चित्र (म्युरल आर्ट), कोडिङ्, संस्कृति र सम्पदा, चलचित्रको दृष्टिकोणबाट सिकाइ, हस्तकला, अबाकस, कथावाचन, नृत्य, गायन, बाँसुरी, मादल, धिमे, धाः बाजा, डम्फु र नाट्य थिए ।

शिक्षामा सिप तर्फका कार्यक्रमका १० वटा विषय थिए । व्युटिसियन एण्ड हेयर स्टाइल, चित्रकला र मूर्तिकला, कार्पेन्ट्री र उड कार्भिङ्, प्लम्बिङ्, इन्डिजिनस र कन्टेम्पोररी मेसिनरी – डिजास्टर रेडीनेस, हाउस वायरिङ्, मोवाइल एण्ड इलेक्ट्रोनिक्स, कुलिनरी आर्टस्, एग्रीकल्चर एण्ड अर्वन फार्मिङ् र फेसन डिजाइन र टेलरिङ् विषय थिए । 

महतका अनुसार यी विषयमध्ये व्युटिसियन एण्ड हेयर स्टाइलमा सबैभन्दा बढी, कुलिनरी आर्टसमा ४१ वटा, मोवाइल एण्ड इलेक्ट्रोनिक्समा २७ वटा उपसमूह गठन भएका थिए । इन्डिजिनस र कन्टेम्पोररी मेसिनरी – डिजास्टर रेडीनेसमा विद्यार्थीको रुचि देखिएन । यसकारण कुनै पनि उपसमूह गठन भएनन् । एग्रीकल्चर एण्ड अर्वन फार्मिङ्, कार्पेन्ट्री र उड कार्भिङ् र प्लम्बिङ् ३ विषय विषयमा ३–३ वटा उपसमूह गठन भएका थिए । 

यी कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले ६ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमा सिर्जनात्मक सिकाइका लागि ३ करोड रुपियाँ, शिक्षामा सिपका लागि १ करोड ५० लाख रुपियाँ, सिर्जनात्मक सिपतर्फको संगीत विधाको प्रशिक्षणका लागि सांस्कृतिक संस्थानसँग सहकार्य गर्न ५० लाख रुपियाँ, सिर्जनात्मक सिपतर्फकै भित्ते चित्र (म्युरल आर्ट) र शिक्षामा सिपतर्फ स्केचिङ एण्ड स्कल्प्चर विषयको प्रशिक्षणका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न १ करोड रुपियाँ विनियोजन गरिएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update