इप्पानको महासचिवमा आचार्यको उम्मेदवारी, यस्तो छ उनको व्यवसायिक पृष्ठभूमि

 

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उर्जा उद्यमी टिएन आचार्यले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

 हाल ७ सयभन्दा बढी कम्पनी सदस्य रहेको इप्पानको जेठ २९ गते २४औं बार्षिक साधारणसभा एवं आठौ अधिवेशन हुँदैछ । आगामी कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने वार्षिक साधारणसभा तथा अधिवेशनमा आचार्यले महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

आचार्य वित्त विज्ञ जलविद्युत् उद्यमी तथा संस्थागत नेतृत्वकर्ता हुन्। उनीसँग वित्त, पूर्वाधार तथा ऊर्जा विकास क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । छथर जोरपाटी गाउँपालिकामा, धनकुटा जिल्लामा  जन्मेका आचार्य महेन्द्र बहुमुखी क्याम्पसबाट विकम अध्ययन गरी क्याम्पस टपर बनेका थिए ।

सन् २००३ मा उनले इन्स्टिचुट अफ चार्टर्ड एकाउन्टेन्टस अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि प्राप्त गरेका हुन् ।

आचार्य अहिले भिजन इनर्जी एण्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष छन्, जसले ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु हाइड्रोपावर परियेजना विकास गरिरहेको छ। उनी छ्याङ्गदी  जलविद्युत (माथिल्लो) (४ मेगावाट) र छ्याङ्गदी जलविद्युत (२ मेगावाट) मा निर्देशक रहिसकेका छन् । उनी यी आयोजनामा अहिले पनि संलग्न छन् ।

आचार्य इसुवा खोला (९७.२ मेगावाट), खिम्ती दोस्रो (४८.८ मेगावाट०, अपर कलंगा गाड (३८.४६ मेगावाट), सुपर न्यादी (४०.२७ मेगावाट) र तमोर खोला–५ (४६.९ मेगावाट) जलविद्युत परियोजनामा संलग्न छन् ।

यस्तै, लुजा खोला (२४.८८ मेगावाट), अपर म्याग्दी (३७ मेगावाट), पालुन खोला (२१ मेगावाट), मदामे खोला (२४ मेगावाट), हिदी खोला (६.८२ मेगावाट), कलंगा गाड (१५.३३ मेगावाट), श्याम खोला (७.२ मेगावाट), अपर सानिगाड (१०.७ मेगावाट), अपर पिलुवा (४.७२ मेगावाट), सुपर चेपे (९.०५ मेगावाट), सिद्धी खोला  (१० मेगावाट) तथा फेदीखोला (४.३ मेगावाट) लगायतका परियोजनामा पनि आचार्यको सक्रिय संलग्नता छ ।

वित्तीय संरचना निर्माण, परियोजना परामर्श, लेखापरीक्षण तथा लगानी व्यवस्थापनमा उनको बलियो दक्षता रहेको छ। टि.एन. आचार्य एण्ड कम्पनी मार्फत उनले विभिन्न बैंक, सार्वजनिक संस्था तथा विकास संगठनहरूलाई परामर्श सेवा पनि प्रदान गरेका छन् । आचार्य नेपाल विद्युत् प्राधिकरण, नेपाल वायु सेवा निगम, नेपाल दूरसञ्चार प्राधिकरण तथा नागरिक लगानी कोषको सञ्चालक समितिका पूर्वसदस्य पनि हुन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा पार्षद सदस्य रहिसकेका आचार्य नेपाल लेखापरीक्षणमान बोर्डमा सदस्यको रूपमा काम गरिसकेका व्यक्ति हुन् ।

उनी अहिले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का निर्वाचित कार्यकारी समिति सदस्य छन् ।

व्यावसायिक जीवनबाहेक उनी लेखक, गीतकार, फिल्म निर्माता तथा सामाजिक चिन्तकका रुपमा पनि परिचित छन् ।

जलविद्युत्, सुशासन तथा राष्ट्रिय विकासका विषयमा नियमित रूपमा लेखन तथा विचार प्रस्तुत गर्ने आचार्य संस्थागत विकास, व्यावसायिक निष्ठा तथा सामूहिक नेतृत्वमार्फत दिगो विकासमा विश्वास राख्ने उनी निकटहरु बताउँछन् । 

 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update