चितवन । चितवनको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा ३०० जडीबुटीका बिरुवा रोपिने छ ।
पार्कमा मौवा, तेजपत्ता, अमला, बेलजस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिने उनले जानकारी दिए ।
तीनदेखि पाँच मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको सुचना अधिकारी पौडेलको भनाइ छ ।
‘जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्ने छ,’ उनले भने ।
यसका लागि कार्यालयले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको पौडेलले जानकारी दिए ।
उनका अनुसार माडी नगरपालिका–७ मा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्ने छ । बाँसबाट बनेको बारले बिरुवाको संरक्षण गरी पार्क निर्माण गर्न लागिएको हो ।





