काठमाडौं । कप्तान लियोनल मेस्सीले कीर्तिमानी ह्याट्रिक गरेसँगै साबिक विजेता अर्जेन्टिनाले विश्वकपमा शानदार सुरुवात गरेको छ ।
अमेरिकाको कान्सास सिटी रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अफ्रिकी देश अल्जेरियामाथि ३–० को जित निकालेको हो ।
छैटौं पटक विश्वकप खेलिरहेका मेस्सीले जारी विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् ।
योसँगै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे । मेस्सीले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
यो जितसँगै अर्जेन्टिनाले समूहमा महत्वपूर्ण ३ अंक जोडेको छ । अघिल्ला ५ विश्वकपमा १३ गोल गरेका मेस्सीले जारी विश्वकपको पहिलो खेलमै ३ गोल गरेसँगै सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् ।
जर्मनीका क्लोजले २०१४ को ब्राजिल विश्वकपको सेमिफाइनलमा ब्राजिलविरुद्ध ७–१ को जित निकाल्ने क्रममा गोल गर्दै ब्राजिलकै रोनाल्डो नाजारियोलाई पछि पार्दै कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।
मेस्सीले यसअघिका पाँचै विश्वकपमा असिस्ट गर्दै लगातार पाँच विश्वकपमा असिस्टको कीर्तिमान समेत बनाएका छन् । चार वर्षअघि कतार विश्वकपमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए ।
यस्तै विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ । उनले अल्जेरिया विरुद्धको खेलसँगै विश्वकपमा २७ खेल खेलेका छन् ।





