काठमाडाैं । फिफा विश्वकपको फाइनल खेलमा आज राति पौने १ बजे न्युजर्सी स्टेडियममा तीन पटकको च्याम्पियन अर्जेन्टिना र १ पटकको च्याम्पियन स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपमा दुई टिम ६० वर्षपछि भिड्न लागेका हुन् ।
स्पेन २०१० पछि पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ । अर्कोतिर साबिक विजेता अर्जेन्टिना उपाधी रक्षा गर्दै लगातार दुई पटक विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ ।
यसअघि इटालीले सन् १९३४ र ३८ मा लगातार दुई पटक र ब्राजिलले १९५८ र १९६२ मा गरी लगातार दुई पटक विश्वकपको उपाधी उचालेका थिए । त्यसयता कुनै पनि टोलीले लगातार विश्वकपको उपाधि जित्न सकेका छैनन् ।
यो फाइनलमा सबैभन्दा रोचक कथा भने मेस्सी र यमालको नै छ । मेस्सी अर्जेन्टिनाको सुपरस्टार हुन् भने यामल स्पेनको उदाउँदो खेलाडी हुन् । मेस्सी तिनै खेलाडी हुन्, जसले बार्सिलोनाको अहिलेको उचाई बनाउन प्रमुख भूमिका खेले । जहाँ अहिले यमाल खेलिरहेका छन् । मेस्सी आफैं पनि स्पेनको समेत नागरिक भएकाले यो खेललाई निकै चासोपूर्वक हेरिएको छ । करिब १९ वर्षअघि बार्सिलोनाको एक च्यारिटी फोटोसुटका क्रममा मेस्सीले तीन महिनाका बालकलाई आफ्नो काखमा राखेर नुहाइदिएका थिए । त्यसबेला मेस्सी आफैं पनि २० वर्षका थिए । अब तिनै मेस्सी ३९ वर्षको उमेरमा आफैंले काखमा राखेको बालक यमालसँग विश्वकपको उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् । यो तस्बिर सन् २०२४ मा स्पेनले युरोकप जितेपछि भाइरल बनेको थियो । किनकि युरोपेली च्याम्पियन र दक्षिण अमेरिकी च्याम्पियनबीच फाइनलसिमा हुने निश्चित भएको थियो । तर इरानमाथि अमेरिकी हमलासँगै फाइनलसिमा रोकियो र दुई टिम अब विश्वकपको उपाधीका लागि भिड्दैछन् ।
मेस्सीले जारी विश्वकपमा ८ गोल र ४ असिस्ट गरेका छन् । उनी गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँग २ गोलले पछि छन् । स्पेनको तर्फबाट भने मिकेल ओयारजाबाल ५ गोलसहित शीर्ष गोलकर्ता छन् भने १९ वर्षका यामाल ३० सफल ड्रिब्लिङसहित प्रतियोगिताको सबैभन्दा राम्रो विङ्गरमध्ये एक हुन् ।
विश्वकप र मैत्रीपूर्ण खेल गरी हालसम्म दुवै टिमले १४ खेल खेलेकामा ६–६ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएका छन् । अर्जेन्टिनाले सन् १९६६ को विश्वकपमा स्पेनलाई २–१ ले हराएको थियो । पछिल्लो पटक सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा भने स्पेनले अर्जेन्टिनालाई ६–१ ले स्तब्ध पारेको थियो । लुइस डेला फुन्टेको टिमले सुरुमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो । त्यसपछि स्पेनले लगातार ६ खेल जित्ने क्रममा अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई समेत पाखा लगाएको छ । पुरै प्रतियोगितामा स्पेनले १ गोल मात्रै खाएको छ । गोलकिपर उनाई सिमोन एक विश्वकपमा सर्वाधिक ६ क्लिनसिट राख्ने पहिलो गोलकिपर बनेका छन् ।
साबिक विजेता अर्जेन्टिनाले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराइको थियो । यसपछि केप भर्डे, इजिप्ट, स्वीट्जरल्याण्ड र इंग्ल्याण्डलाई हराएर फाइनलमा आइपुगेको हो ।
इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्थामा अन्तिम १३ मिनेटमा ३ गोल गरेर ३–२ को जित निकालेको थियो । यस्तै सेमिफाइनलमा ८५औं मिनेटसम्म १–०ले पछि रहेको अवस्था उल्टाउँदै २–१ को जित निकालेर च्याम्पियन बन्ने सम्भावना देखाएको थियो । अर्जेन्टिनाले लगातार ७ खल जितेको छ भने १९ गोल गरिसकेको छ ।
फाइनलमा सबैभन्दा कडा टक्कर स्पेनको डिफेन्स र अर्जेन्टिनाको अट्याकबीच हुने देखिन्छ । स्पेनले अहिलेसम्म जारी प्रतियोगितामा १३ गोल गर्दा १ गोलमात्रै खाएको छ । अर्जेन्टिनाले भने १९ गोल गर्दा ७ गोल खाएको छ । रोड्री, कुबार्सी र कुकुरेलामाथि मेस्सीलाई रोक्ने जिम्मेवारी हुनेछ भने अर्जेन्टिनाले मेस्सी, अल्भारेज, लौटारो मार्टिनेज, इन्जो फर्नान्डेजजस्ता खेलाडीबाट विशेष आशा गर्नेछ ।





