काठमाडौं। फिफा विश्वकप–२०२६ मा जर्मनीले शानदार विजयी सुरूवात गरेको छ ।
गएराति भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।
जर्मनीले पहिलो हाफमा तीन गोल गर्दा खेलको दोस्रो हाफमा चार गोल थप्यो । जर्मनीका लागि काई हाभट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।
एनमेचाले खेलको छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेलमा २–१ को अग्रता बनाए ।
त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए ।
त्यसैगरी मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यस जितसँगै जर्मनीले समूहमा तीन अंक जोडेको छ ।





