एम्बाप्पेको कीर्तिमानी गोलमा फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान सम्पन्न समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । 

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा  चार गोल सम्भव भएको हो । 

खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । 

दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि इब्राहिम एम्बायेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । 

यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा ३–१ को जित दिलाए । 

योसँगै उनी फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाउन सफल भएका छन्। 

उनले ओलिभर जिरुडलाई पछि पारेका हुन् । जिरूडले ५७ गोल गरेका छन् भने एम्बाप्पेको ५८ गोल भएको छ। 

एम्बाप्पे अब विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानबाट २ गोलले मात्रै टाढा छन्। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजको नाममा छ । उनले १६ गोल गरेका छन् भने ब्राजिलका रोनाल्डो नाजारियोले १५ गोल गरेका छन्। 

एम्बाप्पेले २०१८ मा ४ र २०२२ को विश्वकपमा ८ गोल गरेका थिए ।  

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update