धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीले भने– हरेक दिन, हप्ता, महिना र वर्षको सुधारको योजना पेश गर्नू

 

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथपछि अर्थमन्त्री डां वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिए ।

कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उनले अध्यक्ष भट्टलाई निर्देशन दिएको मन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका  लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस् । म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्,’ मन्त्री वाग्लेले भने ।

अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए ।

बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए ।

उनले बोर्ड अध्यक्ष भट्टलाई धेरै बोलेर नभई कामले प्रमाणित गर्न पनि सुझाए ।

‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस् । मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ,’ मन्त्री डा. वाग्लेले भने ।

कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए ।

आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update