काठमाडौँ । २०७९ फागुनमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १६ लाख ३२ हजार १६० कित्ता साधारण सेयर (आइपिओ) विक्री गर्यो । सर्वसाधारणले सो कम्पनीको आइपिओ हारालुछ गरेर प्रतिकित्ता १०० रुपैयाँमा किने ।
सेयर कारोबार हुने बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) हो । नेप्सेको वेबसाइटमा सुचिकृत कम्पनीको विभिन्न विवरण अध्यावधिक गरेर राख्ने व्यवस्था मिलाइएको छ । तर, नेप्सेको वेबसाइटमा गएर हेर्ने हो भने भूगोलले अहिलेसम्म सेयरधनीलाई एक पैसा पनि प्रतिफल दिएको तथ्यांक छैन । अर्थात १०० रुपैयाँमा आइपिओ किनेका सर्वसाधारणले भूगोल इनर्जीबाट एक रुपैयाँ पनि प्रतिफल पाएका छैनन् ।
प्रतिफल नपाउनु एउटा कुरा भयो । प्रमुख कुरा त के छ भने ३ वर्षअघि आइपिओमा १०० रुपैयाँ हालेका सर्वसाधारणको सो कम्पनीको सम्पत्ति गत असार मसान्तमा घटेर ४६ रुपैयाँ २८ पैसा भएको छ । अर्थात आइपिओमा पैसा हाल्नेको सम्पत्ति आधिभन्दा बढी भुस भइसकेको छ ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणले यो कुराको पुष्टी गर्छ । गत असार मसान्तसम्मको कारोबारका आधारमा प्रकाशित गरिएको वित्तीय विवरणमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेटवर्थ ४६ रुपैयाँ २८ पैसा छ । कम्पनी ऐन २०६३ का अनुसार ‘खुद सम्पत्ति (नेटवर्थ) भन्नाले कम्पनीको तत्काल कायम रहेको कुल जायजेथाबाट चुक्ता पूँजी तथा शयरधनीको हक लाग्ने जुनसुकै नामाकरण गरिएको जगेडा, कोष वा सञ्चित मुनाफा वा कम्पनीको कुनै ख्याति भए सो बोहकको अन्य सम्पूर्ण दायित्व रकम र संकलित नोक्सानी भए सो समेत कट्टा गरी बाँकी रहेको रकमलाई सम्झनु पर्छ’ ।
भूगोल इनर्जीले आइपिओ जारी गर्ने बेलामा २०८१ साल असार मसान्तमै कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ७७ पैसा पुग्छ भनेको थियो । सो कम्पनीले दैलेखको द्वारी खोला जलविद्युत आयोजनाबाट ३.७५ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ ।
सरसर्ती अध्ययन गर्दा अर्काे एउटा जलविद्युत कम्पनी फेला पर्यो, जसको नेटवर्थ ८ रुपैयाँ ३८ पैसा छ । अर्थात पहिला १०० रुपैयाँ तिरेर आइपिओ किन्नु भएको थियो भने सो १०० रुपैयाँको संपत्ति घटेर अहिले ८ रुपैयाँ ३८ पैसा भएको छ ।
गत असार मसान्तमा प्रतिसेयर नेटवर्थ ८ रुपैयाँ ३८ पैसा भएको कम्पनी दिव्यश्वरी हाइड्रोपावर लिमिटेड हो । सो कम्पनीले २०७३ साल असारमा ३ लाख ९६ हजार कित्ता सेयर विक्री गरेर ३ करोड ९६ लाख रुपैयाँ सर्वसाधारणसँग लिएको थियो । दिव्यश्वरीले संखुवासभाको सभाखोलामा ४ मेगावाट विद्युत उत्पादन गरिहेको छ ।
अनौठो दोस्रो बजार
सुचिकृत कम्पनीहरुको सेयर कारोबार नेप्सेमा हुन्छ । यसलाई दोस्रो बजार (सेकेन्डरी मार्केट) भनिन्छ । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य माग र आपूर्तिका आधारमा तय हुन्छ ।
पहिला सेयर हालेका सेयरधनीको समत्ति घटेर ४६ प्रतिशत अथवा ८ प्रतिशत मात्रै बाँकी रह्यो भने त्यस्तो कम्पनीको सेयर दोस्रो बजारमा १०० रुपैयाँ त नजानै पर्ने हो । तर, अनौठो के छ भने आज (साउन २७ गते) नेप्सेमा भूगोलको सेयर प्रतिकित्ता ३१६ रुपैयाँ र दिव्यश्वरीको सेयर प्रतिकित्ता २८३ रुपैयाँमा कारोबार बन्द भयो ।
जुन कम्पनीको प्रतिशेयर नेटवर्थ ८ रुपैयाँ ३८ पैसा पुगेको छ, त्यही कम्पनीको सेयर दोस्रो बजारमा २८३ रुपैयाँमा हुन्छ । अनि जुन कम्पनीको प्रतिकित्ता नेटवर्थ ४६ रुपैयाँ २८ पैसा छ, त्यही कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता ३१६ रुपैयाँमा कारोबार भइरहेको छ ।
को जवफादेही ?
कम्पनीको सेयरसँग सम्बन्धित विषयमा सरकारका २ वटा निकाय जवाफदेही हुनुपर्ने हो । किनभने पब्लिक कम्पनीलाई पनि कम्पनी ऐन र धितोपत्र ऐनले नियमन गर्छ ।
कम्पनी ऐनको दफा ६० मा कम्पनीको नेटवर्थ घटेमा संचालक समिति जिम्मेवार हुने भनिएको छ ।
सो दफामा भनिएको छ– ‘कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुने: (१) पब्लिक कम्पनीको खुद सम्पत्ति (नेट वर्थ_ घट्न गई चुक्ता पूँजीको आधा वा सोभन्दा कम हुन आएमा त्यस्तो व्यहोरा जानकारीमा आएको पैंतीस दिनभित्र सञ्चालकहरुले कम्पनी तथा शेयरधनी समेतको हितका लागि उपयुक्त रणनीति तयार गर्नु पर्नेछ र सो जानकारी भएको लगत्तै पछि बस्ने साधारण सभामा यस सम्बन्धी छुट्टै प्रस्ताव राख्नु पर्नेछ । तर सो रणनीति कार्यान्वयन गर्न साधारण सभाको स्वीकृति लिनु पर्ने भएमा यथाशीघ्र विशेष साधारण सभा बोलाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम रणनीति तयार नगर्ने, वार्षिक साधारण सभामा प्रस्ताव नराख्ने वा विशेष साधारण सभा नबोलाउने वा जानी जानी त्यस्तो सभा नबोलाइएको स्थिति कायम रहन दिने कम्पनीका सञ्चालकलाई यस ऐन बमोजिम सजाय हुनेछ । (३) सञ्चालकले बदनियत चिताई वा द्वेषपूर्ण लापरवाहीको कारणले कम्पनीको खुद सम्पत्ति उपदफा (१) बमोजिम घट्न गएको कुरा ठहरेमा सोको क्षतिपूर्तिसमेत त्यस्तो काम गर्ने सञ्चालकले तिर्नु पर्नेछ।’ भनिएको छ ।

कम्पनीको नेटवर्थ ५० प्रतिशतभन्दा कम भएमा कम्पनीको संचालक समितिले क्षतिपूर्तिसम्म पनि तिर्नुपर्ने व्यवस्था कम्पनी ऐनमा छ । तर, अहिलेसम्म कुनै कम्पनीको नेटवर्थ ५० प्रतिशतभन्दा कम भयो भनेर कसैलाई पनि कारवाही भएको तथ्य सार्वजनिक भएको छैन ।
कम्पनी ऐन अनुसार कारवाही कम्पनी रजिष्टारको कार्यालयले गर्नुपर्ने हो । तर कम्पनी रजिष्टारको कार्यालयका अधिकारीहरु यसमा कम्पनी संचालक समिति जिम्मेवार हुनुपर्ने र उनीहरु जिम्मेवार नभए सेयरधनीले वार्षिक साधारणसभा मार्फत कारवाही गर्नुपर्ने जवाफ दिन्छन् । सानातिना जलविद्युत कम्पनीको संचालक समिति सामान्यतः ७ जनाको हुन्छ भने साधारण सेयरधनीको तर्फबाट १ जना मात्रै संचालक हुन्छ ।
संचालक समितिमा सानो उपस्थिति र नेटवर्थ ५० प्रतिशतभन्दा कम हुँदा कानुन अनुसारको कारवाही गर्ने निकाय प्रष्ट नहुँदा आइपिओको नाममा सर्वसाधारण ठगिने क्रम बढेको पाइएको छ ।



