गण्डकी सरकारद्वारा उत्कृष्ट कृषक सम्मानित

कास्की। गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । 

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो । 

कार्यक्रममा कृषिमन्त्री भीमबहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्तबहादुर कुँवर र मन्त्रालयका सचिव डा.प्रेरणा सेढाईं भट्टराईले सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला प्रदान गरे।

कृषि क्षेत्रलाई सम्मानित पेसाका रूपमा स्थापित गर्दै सफल कृषकका अनुभवलाई अन्य कृषकसम्म पुर्‍याउने र युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ । 

यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका-१ को सहारा कृषि फार्मका सञ्चालक गमबहादुर कुँवर पुरस्कृत भए।

उनले नगद ५० हजार तथा सम्मानपत्र प्राप्त गरे।
यसैगरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौलाकालिका कृषि फार्मका सञ्चालक निर्मल भट्टराई, पोखरा-१४ को रोशन एण्ड रोहित कृषि फार्मका सञ्चालक रमेश खनाल र तनहुँ व्यास नगरपालिका-१० का दाजुभाई गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना सम्मानित भए।

यसैगरी, खिलुङ कालिका अर्गानिक कृषि फार्म भिरकोट नगरपालिका-७ स्याङ्जाका शालिग्राम अर्याल र नीलगिरि पशुपन्छी तथा कृषि व्यवसाय मुस्ताङका सञ्चालक भूपेन्द्र शेरचन सम्मानित भए । 

प्रदेश उत्कृष्ट कृषि पुरस्कार राशि जनही नगद ३२ हजार र सम्मानपत्र रहेको मन्त्रालयका सूचना अधिकारीसमेत रहेका पशु चिकित्सक डा.राजेशकुमार चौधरीले जानकारी दिए।

कृषिमन्त्री कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

'कृषि उत्पादनलाई बजारसँग जोड्दै व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणाली विकास गर्न प्रदेश सरकारले कृषकलाई प्रोत्साहन गर्दै आएको छ । उत्कृष्ट काम गर्ने कृषकलाई सम्मान गर्दा किसानको हौसला बढ्नुका साथै अन्यलाई पनि आधुनिक र व्यावसायिक खेतीतर्फ आकर्षित हुन सहयोग पुग्छ', उनले भने।

मन्त्रालयका सचिव डा.प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन, यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग र उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने कृषक तथा कृषि फार्मलाई प्रोत्साहन गर्न पुरस्कार वितरण गरिएको बताइन्।

उनले भनिन्, 'सम्मानले कृषि क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।'

प्रदेशमा कृषि उद्यमशीलता विस्तार, आयात प्रतिस्थापन, खाद्य सुरक्षा र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update