झापा । झापाको बाह्रदशी गाउँपालिकाले पालिकाबाट प्रकाशन तथा प्रसारण हुने सन्देशमूलक सूचना र विज्ञापनहरूमा कडाइ गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै चालू आर्थिक वर्ष २०८३/०८४ मा पालिकाको पूर्व(स्वीकृति, सम्झौता वा लिखित कार्यादेश विना कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न सरोकारवालाहरूलाई सचेत गराएको हो।
अबदेखि पालिकाबाट प्रकाशन वा प्रसारण गर्नुपर्ने जुनसुकै प्रकारका सन्देशमूलक सूचना, विज्ञापन, सामग्री प्रकाशन, छायाङ्कन तथा प्रसारण गर्नुअघि सम्बन्धित पक्षले आफ्नो वार्षिक स्वीकृत दररेट वा लागत आदिको प्रमाणका आधारमा कार्यालयसँग अनिवार्य रूपमा सम्झौता, लिखित कार्यादेश वा पूर्व(स्वीकृति लिनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले बताए ।
कार्यालयले भुक्तानी प्रक्रियालाई थप व्यवस्थित बनाउनका लागि स्पष्ट सर्तहरू अघि सारेको छ । अनिवार्य कागजातस् प्रकाशन, प्रसारण वा छायाङ्कन सम्पन्न भएपश्चात् भुक्तानीका लागि बिलरबीजक पेस गर्दा गाउँपालिकासँग भएको सम्झौतापत्र, लिखित कार्यादेश वा स्वीकृतिको पत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। रितपूर्वकका आवश्यक कागजातहरू संलग्न भई आएका बिलहरूको मात्र भुक्तानी प्रक्रिया अगाडि बढाइने कार्यालयले स्पष्ट पारेको छ।
नियम उल्लङ्घन गरे आफैं जिम्मेवार हुनुपर्ने
गाउँपालिकाले सूचनाको वेवास्ता गरी पूर्व/स्वीकृति, सम्झौता वा कार्यादेशविना आफूखुसी कुनै पनि सूचना, विज्ञापन वा सामग्री प्रकाशन, प्रसारण वा छायाङ्कन गरेमा त्यसबापतको सम्पूर्ण दायित्व सम्बन्धित पक्षकै हुने चेतावनी दिएको छ। यस्ता सामग्रीहरूको भुक्तानी गर्न कार्यालय कुनै पनि हालतमा बाध्य नहुने व्यहोरा सूचनामा उल्लेख गरिएको छ।
यो सूचनालाई कार्यान्वयन र प्रचारप्रसारका लागि गाउँपालिकाको सूचना प्रविधि शाखामा समेत बोधार्थ पठाइएको छ।




