सरकार र चिकित्सक संघबिच ५ बुँदे सहमति

काठमाडौँ । नारायणी अस्पतालमा घटेको घटनाका दोषीहरूलाई कारबाही र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबिच ५ बुँदे सहमति भएको छ। सहमति भएसँगै संघले आह्वान गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज (साउन १३ गते) भएको वार्तामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। वार्तामा संघले अघि सारेका मागहरूबारे सकारात्मक छलफल भई ५ बुँदे सहमति कायम भएको हो।

नियमित सेवा सुचारु गर्न आह्वान

सहमतिपछि नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्व राज दवाडीद्वारा जारी विज्ञप्तिमा आन्दोलनका कुनै पनि कार्यक्रम अगाडि नबढाउन आफ्ना सम्पूर्ण शाखा कार्यालयहरूलाई निर्देशन दिइएको छ। साथै देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई अस्पतालहरूमा नियमित सेवा सुचारु गर्न आह्वान गरिएको छ।

संघले सरकारसँग भएको सहमति अक्षरांश कार्यान्वयन गराउन निरन्तर पहलकदमी गरिरहने जनाएको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउने अस्पताल निर्देशक, विशेषज्ञ समाज, एफिन (AFHIN), स्वास्थ्यमा क्रियाशील संघ संस्था तथा पत्रकारहरूलाई संघले धन्यवाद समेत ज्ञापन गरेको छ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update