चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेका विद्यालयका शिक्षक शोकमा परेका छन् । पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उनको निधनपछि भरतपुर महानगरपालिका-१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गरेको स्मल हेभनका शिक्षक शोकमा परेका हुन् ।
सिङ्गो चितवन, देश र विश्वभरबाट शोक व्यक्त गरिरहेका बेला रामनगरस्थित माइलादाई बसिरहेका घरमा आज बिहानैदेखि छरछिमेक तथा आफन्तहरू श्रद्धाञ्जली दिन आइरहेका छन् । भाई गुमाउँदा पीडाबोध गरिरहेका दाजु जीतबहादुर पुर्जाले अरुबेला भाई हिमाल आरोहण गर्दा सधैँ आफूलाई भन्ने गरेको सुनाउँदै यसपटक पाकिस्तान जाँदा केही खबर नगरेको भन्दै उनी भक्कानिए ।
“पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाई भन्थ्यो । पाकिस्तान जाने बेलामा चाहिँ मलाइ केही नभनी गयो ।” घरमा आएकाहसरूँग उनले भक्कानिँदै पीडा पोखिरहेका छन् । निम्स दाईको निधनपछि रामनगरस्थित घरमा आज तस्बिरमा माल्यार्पण गर्नुका साथै दीपप्रज्ज्वलन गरेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छिमेकी जीवनाथ पराजुलीले बताए ।
उनले भने, “हाम्रोभन्दा एक घर परको घरमा निम्सका माइलादाई बस्नुहुन्छ । त्यहाँ राखिएको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छौँ ।” उनको निधनले छिमेकीसमेत शोकमा परेका तारा कुँवरले बताए । बिहानैदेखि माइलादाईको घरमा श्रद्धाञ्जली दिन आउनेक्रम जारी रहेको उनले बताए ।
माइलादाई जीतबहादुर पुर्जा यहाँको घरमा बस्छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ दानामा जन्मिनुभएका उहाँले यहाँको आँपटारीस्थित स्मल हेभन स्कुलमा कक्षा ३ देखि १० सम्म पढेका थिए । सुरुमा आँपटारीमा रहेको स्कुल अहिले कल्याणपुरमा सरेको छ । कक्षा दशपछि उनी ब्रिटिस आर्मीका लागि गएका थिए । “म्याग्दीको दानाबाट बहिनी अनितासहित विसं २०५१ मा ११ वर्षको उमेरमा कक्षा ३ मा अध्ययन गर्न यहाँ आउनुभएका निम्सदाई सानैदेखि आवासमा बस्थे । हालको भरतपुर महानगरपालिका-१ रामनगरमा घर भए पनि निम्स र उनकी बहिनी आवासमा बस्नुहुन्थ्यो”, उनका खेलकुद शिक्षक सुरेन्द्र बरालले भने । करिब सात वर्ष निम्ससँग समय बिताएको स्मरण गर्दै उहाँ सानैदेखि साहासी र अनुशासित स्वभावको भएको बरालले बताए । उनको निधनले आफूलाई पीडाबोध भएको उनको भनाइ छ ।
स्मल हेभन स्कुलका छात्रावास प्रमुख शैलेन्द्र बरालले निम्स विद्यालयको अनुशासित विद्यार्थीका रूपमा रहेका बताए । उनले निम्सको निधनले सिङ्गो विद्यालय स्तबध भएको बताए । आठ वर्ष आफ्नै रेखदेखमा रहँदा निम्सको आँट देखेर ‘एकदिन महान व्यक्ति बन्छ’ भन्ने लागेको उनले स्मरण गरे । स्मल हेभन स्कुलका प्राचार्य रामचन्द्र न्यौपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुसी भएको स्मरण गर्दै अहिले निम्सको निधनले विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताए । सिङ्गो देश र विश्वले चिनेको आफ्नो विद्यार्थी गुमाउनुपर्दाको क्षण अपूरणीय रहेको भन्दै उहाँले यसले देशलाई अपूरणीय क्षति पुगेको बताए ।



