देशभर विपदका ३४ घटना, २७ लाखबराबरको क्षति

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कुल ३४ वटा विपदका घटना घटेका छन् । विपदमा परेर एक जनाको ज्यान गएको छ भने २० घाइते भएका छन् ।

 विपदका कारण देशभरका २५ जिल्ला प्रभावित भएका छन् । देशका दुई सडक अवरुद्ध हुन पुगेको छ । विपदका कारण रु २७ लाख २५ हजारबराबरको अनुमानित क्षति भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनकीरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार, राहतलगायतका कामका लागि २७१ प्रहरी परिचालन गरिएको थियो ।

गत वैशाख १ गतेदेखि देशभर कुल चार हजार ५३ विपदका घटना घटेको प्राधिकरणको विवरणमा उल्लेख छ । सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता छन् । 

सो अवधिमा सबैभन्दा बढी अर्थात् एक हजार २४ आगलागीमा घटना भएका छन् । सर्पदंश ७१६, चट्याङ २३१, लेक लाग्नु ५७, पहिरो ६८५, जनावर आक्रमण २२५, बाढी २००, हुरीबतास ४८०, भारी वर्षा २२७, डढेलो १९१, डुङ्गा पल्टनु र विस्फोटका समान एक–एक घटना भएका छन् ।

त्यस्तै, असिना र भूकम्प चार–चार छन् भने अन्य पाँचवटा घटना घटेको प्राधिकरणको विवरणमा उल्लेख छ । विपदका कारण पाँच हजार १८८ घरपरिवार प्रभावित भएका छन् ।

विपदबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ । वर्षाको समयमा अकस्मात बाढीपहिरो आउने, सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update