मुगुम कर्मारोङ गाउँपालिकाका कर्मचारीको गुहारः हामीलाई बचाऊ, अनि सेवा दिन सक्छौं

 

काठमाडौँ । आँधी र हुरी आउँछ कैले पानी र असिना

हिना र मिना पार्दछ फेरि दुःखीकै पसिना ।

........................................................

सुखी ज्यानलाई कस्तो छ, यता पहिरो पसेर

हेरि हामी दुःखीकै खायो मुटु कलेजा ।

हामी भयौं बेघरबार, हामी भयौं बेघरबार

चरी लैजा समाचार, हामी भयौं बेघरबार ।

......................................

त्यता के–के हुँदैछ, यता बाढी पसेर...।

संगीत श्रोताको शब्द र लयमा रहेको यो गीतले बाढी र पहिरोले पीडित नागरिकले पाएको दुःखको दृश्य स्मरण गराउँछ । र, यो गीतको भावले बाढी पहिरोले पीडित नागरिकले राज्य भएको महसुस गर्न नपाएको दुःखद परिस्थिति संकेत गर्छ ।

यो गीत नागरिकका हकमा हो । तर, यो गीतमा उल्लेख गरिए जस्तै बेसाहारा अवस्थामा एउटा स्थानीय सरकार रहेको छ भन्दा अचम्म लाग्छ । तर, सत्य यही हो– मुगु जिल्लाको मुगुम कर्मारोङ सरकार अहिले यसैगरी आफूलाई बेसाहारा महसुस गरिरहेको छ ।

mugum-karmarong-gapa-mugu-1785739236.jpg
मुगु जिल्लाको दुर्गम क्षेत्रमा रहेको मुगुम कर्मारोङ गाउँपालिकाको कार्यालय भवन नै पटक पटक बाढी पहिरोको चपेटामा परेपछि कर्मचारीलाई सेवा प्रवाह गर्न समस्या भइरहेको छ । यति मात्रै होइन, विगत ३ वर्षमा गाउँपालिकाको केन्द्रमा नै ३ जना कर्मचारीले पहिरोमा परी ज्यान गुमाउनु परेको छ ।

गाउँपालिका स्थापनादेखि हालसम्मको क्षति

गाउँपालिका स्थापना भएपछि २०७६ साल माघ ३ गते गाउँपालिकाको भाडामा बसेको घरमा ढुंगा लागेर घर भत्किदा गाउँपालिकाको दराज, टेबल कुर्ची लगायतका फर्निचरहरुमा समेत क्षति भएको थियो । त्यसपछि २०७७ सालमा गाउँपालिका प्राङ्गणमा ढुङ्गा खसी गाउँपालिकाको क्यान्टिनमा क्षति पुगेको थियो ।

गाउँपालिकाले दिएको जानकारी अनुसार २०७९ सालको श्रावण, भाद्र महिनामा राष्ट्रिय वाणिज्य बैंकले भाडामा प्रयोग गर्दै आएको घर माथि करिब दुई हप्ताभन्दा बढि समयसम्म निरन्तर ढुङ्गा खसेर सोलार प्यानल, छानामा क्षति भएको र बैंकको ढुकुटी समेत गाउँपालिकामा सारेर सञ्चालन गर्नु परेको थियो । यस्तै, प्रहरी चौकी डोल्फु मुगुमा ९हाल पुलु० समेत ढुङ्गा आई छाना प्वाल परेर कोठामा सुतिरहेको अवस्थामा फर्निचर र सिरानी छेउमा भएको मोबाईल सेट समेत नष्ट भएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश चन्द्र रावलका अनुसार विभिन्न समयमा खसेको ढुङ्गा तथा पहिरोका कारण क्षति भएका स्थानीयका १९ घरहरु हालसम्म प्रयोग बिहिन अवस्थामा रहेका र संरक्षणको अभावमा ती घरहरु कुनै पनि बेला भत्किने जोखिम समेत रहेको छ । 

२०७९ सालको श्रावण महिनामा पहिरोका कारण क्षति ग्रस्त भई भाडामा बस्दै आएको नागरिक आरोग्य सेवा केन्द्र समेत सार्नु परेको छ ।

यस्तै, २०८३ सालको असार २३ गते अपरान्ह साढे ४ बजे गाउँपालिकाको कार्यालय प्राङ्गणमा ढुङ्गा आई कार्यालय अगाडी राखिएको फलामे सूचना बोर्ड समेत नष्ट भएको छ । गत साउन ८ गते राति २स्५५ बजे आएको पहिरोमा परी परी एक जनाको मानवीय क्षति भएको थियो भने तीन जना घाईते भएका थिए । दुईवटा घरहरु पूर्णरुपमा क्षति भएको उक्त घटनामा पाँच वटा घरहरु प्रयोग गर्न नमिल्ने गरी क्षति भएको र ती घरहरुमा भाडामा वसी व्यवसाय गर्दै आएका चार घरपरिवारको समेत लाखौँको क्षति भएको गाउँपालिकाको भनाइ छ ।

गत साउन ८ गतेको पहिरोमा गाउँपालिकाको गोदाम प्रयोजनका लागि भाडामा प्रयोग गर्दै आएको स्थानीयको घरमा राखिएका विभिन्न आर्थिक वर्षका सरकारी स्रेस्ता अभिलेख तथा लाखौँको उपकरण तथा औषधीहरु समेत पूर्ण रुपमा नष्ट भएको छ । सो घटनापछि हालसम्म गाउँपालिका केन्द्र वरपर हरेक दिन जसो ढुङ्गा खस्ने क्रम नरोकिएको प्रमुख प्रशासकीय अधिकृत रावलले जानकारी दिए ।

हाल जनप्रतिनिधि तथा कर्मचारीहरुले भाडामा वस्दै आएको डेरा छोडी स्वास्थ्य चौकी पुलु तथा वरपरका अन्य घरहरुमा रात काट्नु परेको छ । यही बेला कर्णाली नदीको बहाव दिन प्रतिदिन बढ्दै गएको छ । पुलु क्षेत्र भनेको कर्णाली नदी किनार हो । सोही कारण उक्त स्थान समेत सुरक्षित नरहेको गाउँपालिकाका कर्मचारीहरु बताउँछन् । 

कर्मचारीहरुका अनुसार गाउँपालिका केन्द्र पुलुमा रहेका सरकारी निकायहरुबाट तोकिएको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयमा बसी सेवा प्रवाह गर्न त्रासपूर्ण वातावरण र जोखिमका दृष्टीकोणवाट संभव छैन । सो स्थानको भौगोलिक अवस्था, भएको बस्ती विकास र विपदका घटनाहरुको क्रमलाई हेर्दा कुनै न कुनै समयमा ठुलो मानवीय तथा भौतिक क्षति वेहोर्नु पर्ने निश्चित जस्तै रहेको कर्मचारीहरु बताउँछन् ।

अहिले उद्योग तथा उपभोक्ता हित, भूमी प्रशासन लगायतका विभिन्न कार्यहरु स्थानीय तहमा ल्याई स्थानीय तहको कार्यक्षेत्र विस्तार हुने क्रम जारी छ । तर, सो स्थानमा सरकारी संरचनाहरु स्थापना गर्नका लागि पर्याप्त स्थान तथा दर्तावाला जग्गा समेत नभएको गाउँपालिकाको भनाइ छ । हाल उपलब्ध गाउँपालिकाको प्रशासकीय भवन तथा अन्य संरचनालाई हेर्दा गाउँपालिकामा कार्यरत कर्मचारीहरुका लागि कार्यालयमा बसी सेवा प्रवाह गर्नका लागि पर्याप्त ठाउँ समेत नभएको र सो भवन पनि उच्च जोखिममा रहेको छ ।

गाउँपालिकाले सरकारी जिन्सी सामान तथा अभिलेखहरु समेत विभिन्न भाडाका असुरक्षित घरहरुमा राख्नु परेको छ ।

सो स्थानबाट सेवा प्रवाह गर्न र कर्मचारी तथा जनप्रतिनिधिको ज्यान जोगाउँन समस्या देखिएपछि सबै कर्मचारीले गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरी पत्र लेखेका छन् । पत्रमा कर्मचारी तथा जनप्रतिनिधिको जिउधनको सुरक्षालाई ध्यानमा राख्न आग्रह गरिएको छ ।

‘यस परिस्थितिमा कर्मचारीहरुलाई सुरक्षित महशुस गरी सेवा प्रवाह गर्न तथा स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरुको धनजनको क्षति न्यूनीकरण गर्न, गाउँपालिकाभित्रको कुनै पनि सुरक्षित स्थानमा सरकारी संरचना निर्माण गरी सेवा प्रवाह गर्न र यस समस्याको दीर्घकालिन समाधानका लागि आवश्यक निर्णय गराईदिन हुन यो संयुक्त अनुरोध छ,’ कर्मचारीहरुले गाउँपालिका अध्यक्षलाई लेखेको पत्रमा उल्लेख छ । 

 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update