कांग्रेस संस्थापनइतर पक्षको भेलाले गरेका ५ निर्णय

 

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाले ५ बुँदे निर्णय गरेको छ ।

आयोजकले दिएको जानकारी अनुसार सो भेलाले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा १५औं महाधिवेशन गर्ने निर्णय गरिएको छ । यस्तै, भेलाले शेरबहादुर देउवाको सभापतित्वमा १५औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

यस्ता छन् भेलाका ५ निर्णय

१. १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औ महाधिबेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ।

१५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ।

२. २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो। आज पनि देश अप्ठेरो स्थितिमा छ। यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि कृयाशील रहने।

३. नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपाल रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ।

४. वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग सम्बाद गरी निकाश दिइने छ।

५. २०८३ श्रावण ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरूलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहनु हुनेछ।

 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update