नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीको सहभागिता

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ। साउन २६ गतेदेखि सुरु भएको ६ दिने एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ।

एक्स्पोको उद्घाटनका दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए। नाइमाले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शक आउने अपेक्षा गरेको थियो।

समापन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ नयाँ उत्पादनको सार्वजनिक हुनु एक्स्पोका प्रमुख उपलब्धि भएको बताइन्।

उनले एक्स्पो कुनै व्यक्ति वा संस्थाको मात्र नभई समग्र नेपाली मोबिलिटी उद्योगको सामूहिक सफलता भएको बताउँदै आगामी दिनमा अझ ठूलो र प्रभावकारी एक्स्पो आयोजना गर्ने लक्ष्य रहेको उल्लेख गरिन्। उनका अनुसार नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै ज्ञान र सिकाइलाई प्राथमिकता दिइएकाले एक्स्पोलाई केवल सवारीसाधन प्रदर्शन गर्ने थलोका रूपमा सीमित गरिएको थिएन।

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा दर्शकको उपस्थितिले नेपाली अटोमोबाइल उद्योगप्रति बढ्दो आकर्षणलाई देखाएको बताए। अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा बढी दर्शक, इन्क्वायरी र बुकिङ प्राप्त भएको भन्दै एक्स्पोबाट आफूहरू उत्साहित भएको बताए।

नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’ भएको टिप्पणी गरे। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा जोड दिइएको बताउँदै अवलोकनकर्ताको सन्तुष्टिलाई एक्स्पोको सफलताको मुख्य मापकका रूपमा व्याख्या गरे।

विभिन्न विषयमा संवाद र छलफल

एक्स्पोको अन्तिम दिन ‘Importing Talent, Exporting Workers: Bridging Nepal’s Education, Skills and Entrepreneurship Gap’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो। संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य तथा पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाईं र थापाथली इन्जिनियरिङ क्याम्पसका एसिस्टेन्ट प्रोफेसर लोचनकेन्द्र देवकोटाले धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सञ्जय सिलवाल गुप्ताले गरेका थिए।

एक्स्पो अवधिभर मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया पनि आयोजना गरिएको थियो। शनिबार ‘AI and Automotive Technology: Driving the Future of Mobility’ तथा शुक्रबार ‘Battery Recycle and Ethanol Blending in Fuel’ विषयमा छलफल भएको थियो। बिहीबार ‘Mobilizing Mobility through Finance & Insurance’ विषयमा अन्तर्क्रिया गरिएको थियो।

त्यस्तै, बुधबार ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा लर्निङ सेसन आयोजना गरिएको थियो भने पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा छलफल गरिएको थियो।

५३ नयाँ उत्पादन सार्वजनिक

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पोको दोस्रो संस्करण आयोजना गरिएको हो। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताका विभिन्न ब्रान्ड सहभागी थिए। आयोजकका अनुसार एक्स्पोमा ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिएका थिए।

एक्स्पोलाई विभिन्न बैंक, बीमा, प्रविधि, शिक्षा, चार्जिङ, राइड, स्वास्थ्य, सुरक्षा तथा व्यवस्थापन क्षेत्रका संस्थाले सहकार्य गरेका थिए। ग्लोबल आइएमई बैंक को–स्पोन्सर तथा रेडबुल पावर्डबाईका रूपमा रहेका थिए। एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर थिए।

त्यसैगरी, बोस (BOSCH) प्रविधि, ग्लोबल कलेज र एम्बार्क कलेज शिक्षा, अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ तथा पठाओ नेपाल राइड पार्टनरका रूपमा सहभागी थिए। अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), द सोल्टी काठमाडौं, ग्रान्डी इन्टरनेसनल हस्पिटल, भत्सल इम्पेक्स (हिकभिजन) र हिट्कोले क्रमशः हाइड्रेसन, हस्पिटालिटी, मेडिकल, सर्भिलियन्स तथा फायर एन्ड सेफ्टी पार्टनरका रूपमा सहकार्य गरेका थिए।

एक्स्पोमा आइएमई खल्ती को–टिकेटिङ, युनियन पे क्यूआर, पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क अडियो–भिजुअल, डिजिपल सोलुसन्स डिजिटल, एटीएस नेपाल भेइकल सेफ्टी, मिडिया स्पेस सोलुसन्स म्यानेजमेन्ट, वर्ल्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी तथा प्रफिट मिडिया पब्लिकेसन पार्टनरका रूपमा रहेका थिए।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  २३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update