राष्ट्रिय गौरबको माथिल्लो तामाकोशीः पानी बनिसक्यो जनताको ५६ प्रतिशत लगानी

 

काठमाडौँ । सरकारले राष्ट्रिय गौरबको आयोजना घोषणा गरी उच्च प्राथमिकताको साथ निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लगानी गरेका सेयरधनी भने पछुताउन थालेका छन् ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा सो कम्पनीको प्रतिसेयर नेटवर्थ ४४ रुपैयाँ ४८ पैसा छ । अर्थात सो कम्पनीमा १०० रुपैयाँ हालेका सेयरधनीको सम्पत्ति झण्डै ५६ रुपैयाँले घटेर अहिले ४४ रुपैयाँमा सिमित भएको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाबासीको लागि भनेर प्रतिव्यक्ति ३० देखि १०२ कित्तासम्म सेयर प्रदान गरेको थियो । यसरी हेर्दा सो कम्पनीमा आयोजना अतिप्रभावितले १० हजार २ सय रुपैयाँ हालेर सेयर किनेका थिए ।

कम्पनीले आयोजना प्रभावितलाई सेयर दिएको २०७५ सालमा हो । त्यसपछि २०८० सालमा कम्पनीले फेरि शतप्रतिशत हकप्रद सेयर जारी गर्यो । अर्थात पहिला १०२ कित्ता सेयर हुनेले फेरि १०२ कित्ता सेयरको लागि १० हजार २ सय रुपैयाँ नै कम्पनीमा हाले । यसरी हेर्दा सो कम्पनीमा आयोजना अतिप्रभावित दोलखाबासीले २० हजार ४ सय रुपैयाँ लगानी गरेको देखिन्छ ।

तर, कम्पनीले हालै प्रकाशित गरेको वित्तीय विवरण अनुसार सो कम्पनीको प्रतिशेयर नेटवर्थ करिब ४४ रुपैयाँ छ । यसरी हेर्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २० हजार ४ सय रुपैयाँको आइपिओ किनेका दोलखालीको सम्पत्ति अहिले घटेर करिब ९ हजार रुपैयाँ भएको छ ।

कम्पनी ऐन २०६३ का अनुसार ‘खुद सम्पत्ति ९नेटवर्थ० भन्नाले कम्पनीको तत्काल कायम रहेको कुल जायजेथाबाट चुक्ता पूँजी तथा शयरधनीको हक लाग्ने जुनसुकै नामाकरण गरिएको जगेडा, कोष वा सञ्चित मुनाफा वा कम्पनीको कुनै ख्याति भए सो बोहकको अन्य सम्पूर्ण दायित्व रकम र संकलित नोक्सानी भए सो समेत कट्टा गरी बाँकी रहेको रकमलाई सम्झनु पर्छ’ ।

कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । यो पुँजीमा ५१ प्रतिशत स्वामित्व संस्थापकको छ भने ४९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको छ । 

कम्पनीको नेटवर्थ घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । कम्पनीले प्रकाशित गरेको गत चैत मसान्तसम्मको वित्तीय विवरणमा प्रतिशेयर नेटवर्थ ४६ रुपैयाँ ६९ पैसा थियो । यस्तै, अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ ४५ रुपैयाँ ३४ पैसा थियो ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार ९२ करोड ५९ लाख रुपैयाँ खुद नाफा छ । अर्काे रोचक पक्ष के छ भने कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब ६६ करोड रुपैयाँ बराबरको विद्यत विक्री गरेको छ । २१ अर्ब १८ करोड रुपैयाँको कम्पनीले १० अर्ब ६६ करोड रुपैयाँको विद्युत विक्री गर्दा सो कम्पनी अहिले १२ अर्ब ६३ करोड रुपैयाँ संचित नोक्सानीमा छ ।

कम्पनीले ७६ अर्ब ९ करोड रुपैयाँ दीर्घकालिन ऋण लिएको छ । यसमध्ये ४४ अर्ब २७ करोड रुपैयाँ नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय जीवन बीमा कम्पनीको छ । यस्तै ४ अर्ब ४२ करोड रुपैयाँ थप दायित्व बाँकी रहेको कम्पनीको भनाइ छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना राष्ट्रिय गौरबको आयोजना हो । दोलखाको तामाकोशी नदीमा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हो । सो कम्पनीले ४५६ मेगावाट जलविद्युत उत्पादन गर्छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल असार ११ गते परीक्षण उत्पादनको उद्घाटन गरेका थिए । सुरुमा ३५ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने भनिएको सो आयोजना पछि ८० अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update