काठमाडौं । विदेश जाने नेपाली नागरिकले कन्सुलर सेवा विभागबाट गराउने कागजात प्रमाणीकरणका लागि अब अनलाइनबाटै आवेदन दिनुपर्ने भएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले भदौ १ गतेदेखि नेपाल ई–एटेस्टेसन सिस्टममार्फत अनलाइन आवेदन अनिवार्य गर्ने निर्णय गरेको हो।
विभागले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै उक्त व्यवस्थाको बारेमा स्थानीय तहहरु मार्फत आम नागरिकलाई जानकारी गराउन अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले सबै स्थानीय तहहरुलाई पत्राचार गरी सोको जानकारी गराएको छ ।
विभागका अनुसार स्थानीय तहबाट जारी हुने सिफारिस पत्र तथा कागजातको प्रयोग विदेश जाने नेपालीको संख्या बढेसँगै कागजात प्रमाणीकरणका लागि विभागमा आउने सेवाग्राहीको चाप पनि बढिरहेको छ । कागजात प्रमाणीकरणलाई व्यवस्थित र विश्वसनीय बनाउन तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन प्रणाली लागू गर्न लागिएको हो।
विभागले आगामी साउन २७ गतेदेखि नै नेपाल ई–एटेस्टेसन सिस्टम मार्फत कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन गर्न सकिने व्यवस्था गरेको जनाएको छ। तर भदौ १ गतेदेखि भने कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको प्रणालीमार्फत अनलाइन आवेदन दिनु अनिवार्य हुनेछ।
अनलाइन आवेदन गरी प्रणालीमा कागजात अपलोड गरेपछि आवेदन स्वीकृत भएको अवस्थामा मात्र तोकिएको राजस्व बुझाउन सकिने विभागले जनाएको छ। त्यसपछि सेवाग्राहीले आफ्नो अपोइन्टमेन्टको मिति र समयअनुसार सक्कल कागजातसहित विभागमा उपस्थित भई प्रमाणीकरण सेवा लिनुपर्नेछ।
विभागले स्थानीय तहबाट जारी हुने सिफारिस तथा कागजातको प्रमाणीकरण सम्बन्धी नयाँ व्यवस्थाबारे सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन स्थानीय तहहरूलाई समेत परिपत्र गर्न आग्रह गरेको छ।



