काठमाडाैं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर बनाउने निर्णय गरेको हो।
राष्ट्र बैंकमा गत २५ फागुनदेखि रिक्त रहेको दुईमध्ये एक डेपुटी गभर्नर पदमा रावल नियुक्त भएका हुन्। यसअघि सरकारले २४ चैतमा किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरे पनि अर्को पद भने रिक्त नै राखेको थियो।
राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ। ऐनले राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था गरेको छ।
रावल यसअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए। राष्ट्र बैंकमा करिब दुई दशकको अनुभव भएका उनले वित्तीय क्षेत्रको नियमन, बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण, मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादमा वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी) क्षेत्रमा काम गरेका छन्।
सन् २०१९ देखि २०२४ सम्म उनले नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू) प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए।
शैक्षिक रूपमा पनि रावलको पृष्ठभूमि वित्त र अर्थशास्त्रसँग जोडिएको छ। उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा वित्त विषयमा विद्यावारिधि शोधरत छन्। उनले वित्तमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए तथा समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। रावलको नियुक्तिसँगै नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद पूरा भएको छ।



