बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले बुधबार बिहानैदेखि सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्।
पीडित परिवारसहित स्थानीयवासीले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। बालिकाको हत्या घटनाले स्थानीयमा आक्रोश बढेपछि उनीहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमा चौधरीको सोही दिन हत्या भएको खुलेको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाले बालिकाको हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै स्थानीयले प्रदर्शन जारी राखेका छन्। घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई हदैसम्मको कारबाही नभएसम्म आन्दोलन जारी राख्ने स्थानीयको भनाइ छ।



