खडक नगरपालिकामा इहाजिरी अनिवार्य, बिनास्वीकृति बिदा बसे सेवा–सुविधा कट्टा हुने

काठमाडौँ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि डिजिटल हाजिरी प्रणाली अनिवार्य गरेको छ। 

नेपाल सरकार, सूचना प्रविधि विभागको केन्द्रीय हाजिर प्रणालीसँग जोडिएको इ–हाजिरी मेसिन नगरपालिकाको केन्द्रीय कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू तथा मातहतका स्वास्थ्य संस्थाहरूमा जडान भएसँगै भदौ १ गतेदेखि यसलाई लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रशासनिक कामकारबाहीलाई थप पारदर्शी, प्रविधिमैत्री र अनुशासित बनाउन यो कदम चालिएको हो। 

बिदा तथा काज सम्बन्धी नयाँ व्यवस्था

नयाँ व्यवस्था अनुसार अब कर्मचारीहरूले बिदा वा काजमा बस्नुपरेमा अनिवार्य रूपमा आ–आफ्नो व्यक्तिगत पोर्टल मार्फत आवेदन दिनुपर्नेछ। यसरी आवेदन दिएपछि प्रशासन शाखाबाट सिफारिस भई आधिकारिक रूपमा स्वीकृत भएपछि मात्र कर्मचारीहरू बिदामा बस्न पाउनेछन्।

नगरपालिकाले दिएको जानकारी अनुसार बिदा स्वीकृत नगराई अनुपस्थित भएमा वा बिनासूचना काममा नआएमा नियमानुसार सेवा–सुविधा कट्टा गरिनुका साथै विभागीय कारबाहीसमेत गरिनेछ।

प्राविधिक समस्या आए के गर्ने ?

हिजिटल हाजिरी सम्बन्धी व्यवस्थामा कुनै प्राविधिक समस्या आएमा त्यसको समाधान कसरी गर्ने भन्ने पनि नगरपालिकाले तय गरेको छ । नगरपालिकाका अनुसार यदि कुनै कार्यालय, वडा वा स्वास्थ्य संस्थामा जडान गरिएको इ–हाजिरी मेसिनमा प्राविधिक खराबी आएमा सम्बन्धित कर्मचारी वा निकायले आधा घण्टाभित्र नगरपालिकाको सूचना प्रविधि शाखा र प्रशासन शाखामा जानकारी गराउनुपर्नेछ।

तोकिएको समयभित्र मेसिन बिग्रिएको जानकारी नदिएमा नियतवश हाजिर नगरेको वा अनुपस्थित रहेको ठहर गरी कारबाही प्रक्रिया अगाडि बढाइने नगरपालिकाको भनाइ छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update