सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न हरिपुर्वा नगरपालिकाले माग्यो आशयपत्र

 

काठमाडौँ । सर्लाहीको हरिपुर्वा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको लेखापरीक्षण गर्न इच्छुक लेखापरीक्षक तथा लेखा व्यवसायी फर्मबाट आशयपत्र माग गरेको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को श्रेस्ता लेखापरीक्षण गर्न तथा सोभन्दा अघिल्ला आर्थिक वर्षको लेखापरीक्षण हुन बाँकी रहेका विद्यालयहरूको समेत लेखापरीक्षण गराउनुपर्ने भएकाले इच्छुक लेखापरीक्षकबाट आशयपत्र माग गरेको हो।

नगरपालिकाका शिक्षा शाखा प्रमुख जनक काफ्लेका अनुसार इच्छुक लेखा व्यवसायी फर्मले सुचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र नोटरी पब्लिकबाट प्रमाणित आवश्यक कागजातसहित आशयपत्र नगरपालिकाको कार्यालयमा पेश गर्नुपर्नेछ । नगरपालिकाले भदौ ५ गते सार्वजनिक सुचना प्रकाशन गरेको काफ्लेले जानकारी दिए ।

आशयपत्र पेश गर्ने लेखा व्यवसायी फर्मले लेखा व्यवसायी फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, फर्म नवीकरण भएको प्रमाणपत्र, आइक्यानको सदस्यता प्रमाणपत्रको प्रतिलिपि, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा आर्थिक वर्ष २०८२/०८३ को कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार सामुदायिक विद्यालयको आर्थिक पारदर्शिता, नियमित लेखापरीक्षण तथा वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित बनाउन लेखापरीक्षण प्रक्रिया अघि बढाइएको हो।

 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update