मुगु । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा सोमबार राति भीषण आगलागी भएको छ। राति करिब २ बजेको समयमा गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो।
आगलागी भएपछि स्थानीयवासी, नजिकै रहेको प्रहरी चौकी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय नरवीर थापाले जानकारी दिए। उनका अनुसार आगलागी भएको स्थान नजिकै गाउँपालिकाका केही कर्मचारी बस्दै आएका थिए। आगो लागेको थाहा पाएलगत्तै स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइए पनि भवनमा ठूलो क्षति पुगेको छ।
आगलागीको कारणबारे यकिन हुन नसकेको गाउँपालिका प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीले बताए। प्रारम्भिक अवस्थाको निरीक्षण गर्दा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिए पनि घटनाबारे थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
आगलागीबाट गाउँपालिकाको जिन्सी शाखा पूर्ण रूपमा जलेर नष्ट भएको छ। त्यहाँ राखिएका महत्वपूर्ण श्रेस्ता तथा अत्यावश्यक कागजातसमेत जलेर नष्ट भएको सार्कीले जानकारी दिए। उनका अनुसार लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा रहेका अधिकांश कागजातमा समेत क्षति पुगेको छ।
‘जिन्सी शाखामा राखिएका ब्याट्री पड्किएपछि आगोले ठूलो रूप लिएको जस्तो देखिन्छ । विद्युत्का तार, वायरिङ र बल्बहरू पनि जलेका छन्,’ उनले भने ।
गत वर्ष मात्रै उद्घाटन गरिएको उक्त प्रशासनिक भवन जिल्लाकै नमुना भवनका रूपमा रहेको थियो । त्यसअघि गाउँपालिकाको कार्यालय अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो। भवनको तल्लो तलामा जिन्सी शाखालगायत विभिन्न शाखा तथा माथिल्लो तलामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्ष रहेका थिए।
आगलागीको कारण र क्षतिको वास्तविक विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए। उनका अनुसार अहिले नै आगलागीको कारणबारे यकिन भन्न सकिने अवस्था छैन। कार्यालयमा जडान गरिएको सीसीटीभी फुटेजसमेत अध्ययन गरिने उनले बताए।
आगलागीबाट भवनको विद्युत् वायरिङदेखि विभिन्न शाखामा रहेका कागजात र सामग्रीमा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ। घटनाबाट भएको भौतिक तथा प्रशासनिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।



