बिर्तामोड नगरपालिकाको अफरः भक्तपुरको केएमसीमा उपचार गरे ५० प्रतिशत छुट

 

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार गराउने नगरवासीलाई ५० प्रतिशत छुट सुविधा दिने भएको छ । 

बिर्तामोड नगरपालिका र केएमसीबीच सेवामा छुट दिने सहमती भएपछि भदौ ४ गतेदेखि  बिर्तामोडको यो अफर लागू भएको छ । 

नगरवासीलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने र उपचार खर्चमा सहुलियत दिने उद्देश्यले दुवाकोटस्थित केएम्सीसहित विराटनगर र काठमाडौंका अस्पतालमा समेत छुट सुविधा दिइएको छ । 

बिर्तामोडवासीले विराटनगरको नोबेल मेडिकल कलेजमा २० प्रतिशत र सिनामंगलमा रहेको केएमसीमा उपचार गराउँदा २५ प्रतिशत छुट पाउने छन् । 

छुट सुविधा लिनका लागि नगरपालिकाको सिफारिसपत्र र ठेगाना खुल्ने परिचयपत्र भए पुग्नेछ । तर, आईभिएफ, प्लाष्टिक सर्जरी, कस्मेटिक सर्जरी, औषधि र चिकित्साजन्य सामाग्रीहरुमा यस्तो छुट लागू नहुने नगरपालिकाले जनाएको छ । 

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले स्वास्थ्य बिमाको उपयोग गरिसकेका वा स्वास्थ्य विमा नभएका बिर्तामोडका नगरवासीहरुको उपचारका लागि अपरेशनसहितका सेवाहरुमा छुट दिइएको जानकारी दिए ।  

 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update