काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाहको सुचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन् ।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन् ।
बाढीलगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् ।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्रीले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्नेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।




