बाढी पीडितका लागि ‘मह जोडी’ले प्रधानमन्त्री राहत कोषमा २ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कलाकार हरिवंश आचार्यले ‘मह’ जोडीका तर्फबाट प्रतिव्यक्ति एक/एक लाख गरी कुल दुई लाख रुपैयाँ कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्।

देशभर आएको बाढी-पहिरोको विपत्तिप्रति दुःख व्यक्त गर्दै उनले लेखेका छन्, "बाढीको वितण्डाले देश रोइरहेको बेला पक्ष-विपक्ष नभनी देश तथा विदेशमा रहेका नेपालीहरूलाई प्रधानमन्त्री राहत कोषमा आफ्नो गच्छेअनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।"

‘मह जोडी’ले यस कठिन परिस्थितिमा विपद् प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि एकजुट भएर आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई अपिल समेत गरेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update